जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवन उद्घाटन

विराटनगर । नेपाल सरकारको ४२ करोड लागानीमा जनकपुरधाम विमानस्थलको नयाँ टर्मीनल भवन, टावर, सुरक्षाकर्मीको आवास गृह र पार्किङको उद्घाटन भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलबार उद्घाटन गरेसँगै विमानस्थलको उक्त संरचना अब औपचारिक रुपमा संचालनमा आएको छ । यो टर्मीनल भवन स्टील स्टक्चरको र आधुनिक सुबिधासहितको रहेको छ ।

२०६९ सालमा निर्माण सुरू भएको टर्मिनल भवन आठ वर्षपछि तयार भएको हो । आधुनिक नयाँ टर्मिनल भवन सञ्चालनमा आएसँगै जनकपुर विमानस्थलको पाँच दसक पुरानो टर्मिनल भवन विस्थापित भएको छ ।

१८ जना यात्रु बोक्ने जहाजको लागि २०२४ सालमा निर्माण गरिएको टर्मिनल भवनबाट हालसम्म सेवा दिइँदै थियो। वि.सं. २०६९ कात्तिकमा १८ करोडको लागतमा तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीले टर्मिनल भवनको शिलान्यास गर्नुभएको थियो । डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माणका लागि पप्पु एण्ड एनके कन्स्ट्रक्सन तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबीच २०६९ असोज १५ मा सम्झौता भएको थियो।

प्राविधिक समस्या, रकम अभावलगायतका कारण टर्मिनल भवन निर्माणमा ढिलाइ हुनुको साथै भवन निर्माणको लागत पनि बढेको हो । अत्याधुनिक नयाँ टर्मिनल भवन सञ्चालनमा आएसँगै यसअघि यात्रुहरूका चापका कारण भीडभाड हुने समस्याको अन्त्य हुने भएको छ । नयाँ टर्मिनल भवनको प्रस्थान कक्षमा २ सय ५० यात्रु बस्न सक्ने व्यवस्था मिलाइएको छ । जनकपुरबाट काठमाडौंका लागि दैनिक ५ वटा उडान हुँदै आएको छ ।

मङ्गलबार, २३ मंसिर, २०७७, दिउँसोको ०३:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर