केराबारीको बुद्ध माविमा पठनपाठन सुचारु

विराटनगर । उत्तरी मोरङको केराबारी स्थित बुद्ध माध्यमिक विद्यालयले सामाजिक दुरी र स्वास्थ्य सुरक्षासहित पठनपाठन सञ्चालन गरेको छ ।

कोरोना भाइरसको महामारीको कारण लामो समयदेखि विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित रहेकोमा केराबारी–९ मा रहेको बुद्ध माध्यमिक विद्यालयले आइतबारदेखि पठनपाठन सञ्चालन गरेको हो ।

अहिले दिन ४ वटा कक्षाका विद्यार्थीलाई बोलाएर मास्क, फेससिल्डसहित सामाजिक दुरीमा राखेर पठनपाठन सुरु गरिएको प्रध्यानाध्यापक छवि धमलाले जानकारी दिनुभयो । विहान १० बजेदेखि ४ बजेसम्म नै सामाजिक दूरी कायम गर्दै नियमित मास्क, फेससिल्ड र स्यानिटाइजरको प्रयोग गरेर पठनपाठन थालेको उहाँको भनाइ छ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लागू गरिएको लकडाउन र निषेधाज्ञाका कारण गत चैतदेखि विद्यालय बन्द हुँदा विद्यार्थीको पठनपाठन नराम्रोसँग प्रभावित भएको छ । विद्यालय व्यवस्थापन समतिका अध्यक्ष भूपालमान कार्कीका अनुसार विद्यार्थीहरुले पढाई नै विर्सने अवस्था आएपछि विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर विद्यालय सञ्चालन गरिएको हो ।

विद्यार्थीका लागि विद्यालयले नै फेससिल्डसमेत निर्माण गरेको छ । घरमा बस्दाभन्दा विद्यालयमा जाँदा बालबालिका सुरक्षित रहेको अभिभावकहरुको भनाइ छ ।
बाहिरबाट आउने शिक्षक–शिक्षिकाको पिसिआर परीक्षण गर्नुपर्ने, विद्यालयनजिकै कोठा भाडा लिएर बस्नुपर्ने नियम व्यवस्थापन समितिले बनाएको छ । शिक्षक तथा कर्मचारीलाई आर्थिक भार पर्ने भएपनि विद्यार्थीका लागि राहत भएको अभिभावकहरुको भनाइ छ ।

विद्यार्थीलाई एक दिन विद्यालय बोलाएर ४ दिनको लागि गृहकार्य दिएर पठाउने गरिएको छ । उनीहरु पाँच दिनपछि पुनः विद्यालय आउनेछन् । सुरुमा अनलाइन कक्षासमेत सुरु गरेको विद्यालयले सबै विद्यार्थीको पहुँच नपुगेपछि टोलटोलमा विद्यार्थी भेला गराएरसमेत पढाएको थियो ।

मङ्गलबार, ०६ असोज, २०७७, बिहानको ०८:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर