विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोशी अस्पतालको आइसोलेशनबाट रिफर गरिएका मोरङको धनपालथान गाउँपालिकाका ५२ वर्षीय पुरूषको शनिबार विहान ११ बजे मृत्यु भएको हो ।

स्वावप्रश्वासमा समस्या भएपछि कोशी अस्पतालको आइसोलेनमा भर्ना गरिएका उनलाई शुक्रबार राति कोभिड अस्पतालमा लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको कोशी अस्पतालका फिजिसियन डा. लक्ष्मीनारयण यादवले जानकारी दिनुभयो ।

मृतकको स्वाब परीक्षण गर्दा शनिबार नै कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा मृत्यु हुनेको संख्या चार पुगेको छ ।

हालसम्म कोरोनाको कारण मोरङमा मृत्यु हुनेको संख्या १९ पुगेको छ । शुक्रबार साँझ मात्र  विराटनगरका २ जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । एक जनाको कोशी अस्पतालको आइसोलेसनमा र एक जनाको बीपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

योसँगै प्रदेश १ मा कोरोनाबाट ३८ जनाले ज्यान गुमाएका छन् । जसमध्ये १२ जना प्रदेश २ का छन् ।