काठमाडौं । शुक्रबार बिहान करिब सवा १ बजेतिर जिल्ला प्रहरी कार्यालय धादिङको गेटमा एक युवा आइपुगे । ड्युटीमा खटिएका प्रहरीलाई ती युवाले भने ‘म त मान्छे काटेर आएको, टाउको झोलामा छ ।’

कार्यालयलाई पहरा दिइरहेका ती प्रहरीले पत्याएनन् । प्रहरीले नपत्याएपछि ती युवकले  रंगको पछाडि भिर्ने झोला खोलेर देखाए । झोलामा एक बृद्धको रक्तमुछेल टाउको देखेपछि प्रहरीको होस उड्यो ।

युवक आफैंले हत्या गरेका व्यक्तिको टाउको र खुर्पा बोकेर जिल्ला प्रहरी कार्यालय धादिङमा आत्मसमपर्णका लागि पुगेका थिए । प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीका अनुसार सामान्य विवादमा खुर्पाले हानेर धादिङको निलकण्ड नगरपालिका १३ का ६४ वर्षीय सोमबहादुर गुरुङको २३ वर्षीय राजु परियारले हत्या गरेका हुन् ।

प्रहरीका अनुसार बिहीबार राति १० बजेतिर धादिङको नीलकण्ठ नगरपालिका–१३ स्थित खलचेतमा आत्महत्या गरेका एक व्यक्तिको १३ दिने कर्मकाण्डमा संस्कार अनुसारको पितृप्रसाद खाएर गुरुङ फर्किरहेका थिए । बाटोमा भेटेका राजुलेले गुरुङलाई यति राति कता हिँडेको बाबै भनेर सोधेका थिए ।

सोमबहादुरले जिस्किँदै जवाफ दिए, ‘तेरो श्रीमतीलाई भेट्न जान लागेको ।’ बृद्धको कुरा सुनेर राजु रिसाउँदै ‘यस्तो उमेरमा पनि नचाहिने कुरा गर्ने’ भन्दै बाझ्न थाले । सोमबहादुरले युवकको घॉटी समातेपछि आवेसमा आएका राजुले नजिकैको घरमा गएर खुर्पा ल्याई वृद्धको गर्दन छिनाएको खुलेको छ ।

सोमबहादुरको हत्यापछि टाउको झोलामा राखेर डेढ घण्टा पैदल हिँडेर राजु जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न पुगेका थिए । युवकले गुरुङको टाउको र खुर्पा बोकेर जिल्ला प्रहरी कार्यालय धादिङमा आत्मसमपर्ण गरेको एसपी रेग्मीले बताउनुभयो ।

राजुलाई नियन्त्रणमा लिएर घटनास्थलमा प्रहरी टोली पुगिसकेको र पोस्टमार्टमका लागि शव ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।