विराटनगर ।
घटना- १
मोरङको कोनेपोखरी गाउँपालिका ५ की गर्भवती महिला मंलबार राति शौंच गर्न गएको बेलामा शौचालयमा लडेर घाइते भइन् । घाइते भएकी २३ वर्षीया सविना थापा (दर्जी) को स्वास्थ्य अवस्था विग्रँदै गएपछि परिवारले उनलाई बुधबार विराटनगरको अस्पताल ल्याए ।
शान्तिलाई कोरोनाको बहानामा विराटनगरका अस्पतालले भर्ना लिएनन् । सुनितालाई नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज, विराट नर्सिङ होम, ग्रीनक्रस, सुरक्षा र कोशी अस्पताल लगिएपनि कसैले उपचार गर्न नमानेपछि उनको स्वास्थ्यमा थप समस्या भयो ।
विराटनगरका कुनैपनि अस्पतालले उपचार गर्न नमानेपछि बिहीबार बिहान सविनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो । प्रतिष्ठानमा उपचार सुरु गरेको केहि समयमै सविनाको मृत्यु हुन पुगेको हो ।
घटना- २
भदौ ११ मा उपचारै नपाउँदा मोरङको पथरीशनिश्चरे नगरपालिका–२ की ६२ वर्षीया सानकुमारी राईको पनि ज्यान गयो । एक्कासी पिसाब बन्द भएपछि एम्बुलेन्समा राखेर १० भदौमा रातभर झापा र मोरङका ७ वटा अस्पताल डुलाउँदा डुलाउँदै उनले मृत्युवरण गरिन् ।
कोरोना रिपोर्ट नेगेटिभ आएको प्रमाण खोज्दै निजी अस्पतालले भर्ना लिन नमानेपछि अन्तिम अवस्थामा आफन्तले हारगुहार गरेपछि कोशी अस्पतालमा भर्ना त गरियो । तर, ढिलो भइसकेको थियो । अस्पतालमा भर्ना भएको एक घण्टा वित्न नपाउँदै उनको मृत्यु भयो । उनको कोरोना जाँच गर्दा रिपोर्ट पनि नेगेटिभ आयो ।
घटना- ३
पथरीकी सानकुमारीको मृत्यु भएको दुई दिनपछि उदयपुर चौदण्डीगढी नगरपालिका ६ की ६५ वर्षीय डम्बरकुमारी बस्नेतको खाना खाने क्रममा भात सर्कियो । तत्काल उपचारको लागि स्थानीय प्राथामिक स्वास्थ्य केन्द्रमा उनलाई आफन्तले लगे । स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि थप उपचारको लागि विराटनगर लैजान रिफर गरियो ।
परिवारका सदस्यले राति नै डम्बरकुमारीलाई विराटनगर ल्याए । विराटनगरका अस्पतालले भर्ना लिन नमानेपछि घर फकाइएकी उनको १४ भदौमा उपचार नपाएरै मृत्यु भयो ।
माथि उल्लेखित प्रतिनिधिमुलक घटना हुन् । प्रदेश १ को राजधानी विराटनगरका ठूला अस्पतालले कोराना भाइरसको संक्रमणको कारण देखाउँदै विरामी भर्ना नलिदा उपचार अभावमा ज्यान गुमाउन बाध्य भइरहेका छन् ।
गएको एक सातामै तीन विरामीले उपचार नपाएर ज्यान गुमाएका छन् । यसरी समयमा उपचार नपाउँदा स्वास्थ्यमा विभिन्न समस्या भएर उपचारका लागि ल्याए पनि अस्पतालहरुले ठाडै अस्वीकार गर्दा दर्जी, राई र बस्नेतजस्तै धेरैले अकालमा ज्यान गुमाइरहेका छन् । मृत्युवरण गर्नेमा कोरोना संक्रमण भने देखिएको छैन ।
विराटनगरका अस्पतालमा उपचार गर्न जाने विरामीले पहुँच र पावर नै देखाउनुपर्ने तथा पावर नहुनेले त्यत्तिकै ज्यान गुमाउनुपर्ने अवस्था बनेको मृतक सविनाका श्रीमान भरतले बताउनुभयो । ‘कोरोनाको जोखिम देखाउदै निजी हस्पिटले अहिले विरामी लिन छाडेको छ,’ उहाँले भन्नुभयो, ‘विरामीले ल्याउने वितिकै अस्पतालले भर्ना नलिदा बाध्य भएर मृत्युवरण गर्नुपरेको छ ।’
विराटनगरका अस्पतालले भर्ना लिन लिन नमानेकै कारण ७ महिनाकी गर्भवती श्रीमतीको मृत्यु भएको भन्दै भरतले दोषीलाई कार्वाहीको माग राख्नुभएको छ । ‘कोरोनाका नाममा समयमा उपचार नपाएर सर्वसाधारणले ज्यान गुमाइरहँदा राज्यले पनि त्यस्ता स्वास्थ्य संस्थालाई कारबाहीको दायरामा ल्याएको देखिँदैन,’ उहाँले भन्नुभयो, ‘कुनै नयाँ बिरामी ल्याउँदा सुरक्षात्मक उपाय अपनाएर उपचार गर्नुपर्नेमा अस्पतालहरु त्यत्तिकै पन्छिएको देखिन्छ ।’
जनस्वास्थ्य ऐन अनुसार कारवाही हुन्छ : प्रजिअ
मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले विरामीको उपचार नगरि फिर्ता पठाउने अस्पताललाई जनस्वास्थ्य ऐन अनुसार कारवाहीको प्रक्रिया अगाडि बढाउने बताउनुभएको छ । ‘दुई जना विरामीको उपचार नपाएर मृत्यु भएको खबर सार्वजानिक भएपछि विराटनगरका निजी हस्पिटलका संचालक र चिकित्सकसँग हामीले छलफल गरेका थियौं,’ उहाँले भन्नुभयोे, ‘भर्ना नगरेर तथा उपचार नपाएर बिरामीको मृत्यु हुने अवस्था आउन नदिन भन्ने विषयमा प्रतिवद्धता भएकोमा कार्यान्वयन भएन ।’
विरामी फिर्ता पठाएर ज्यान गुमाएको उजुरी आएमा जनस्वास्थ्य ऐन २०७५ मा अनुसार कारवाहीको प्रक्रिया अगाडि बढाउने प्रजिअ निरौलाले बताउनुभयो । ‘यदि उपलब्ध स्रोत साधनले उपचार सम्भव नभएमा सुविधा भएको अर्को अस्पतालसँग समन्वय गरेर बिरामी रेफर गर्न सकिन्छ,’ उहाँले भन्नुभयो, ‘अस्पताललाई बिरामी नफर्काउन हामीले भनेका थियौं, अब पनि त्यही क्रम दोहो¥याए कारबाही हुन्छ ।’
बिरामीको उपचार गर्दिन भनेर पन्छिन नपाउने कुरा कानूनमै स्पष्ट रहेको प्रजिअ निरौलाले बताउनुभयो । जनस्वास्थ्य ऐन २०७५ मा स्वास्थ्य उपचारमा नियमित, सहज, सर्वसुलभ, प्रभावकारी, गुणस्तरीय र नागरिकको पहुँच स्थापित गर्ने कुरा उल्लेख छ । ऐनले आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा पाउने नागरिकको अधिकार सुरक्षित गरेको बताउँदै उहाँले उपचारमा आनाकानी गर्नेमाथि ऐनअनुसार तत्काल कारबाही अघि बढाइने जानकारी दिनुभएको छ ।
अस्पतालमा उपलब्ध सबै सेवा दिइसकेपछि उपलब्ध नभएको सेवाका लागि मात्रै अर्को अस्पतालसँग समन्वय गरेर रेफर गर्नुपर्ने कानूनी व्यवस्था छ । बिरामीको उपचारमा लापरबाही गर्ने अस्पताललाई यो वा त्यो बहानामा अब उन्मुक्ति नदिने प्रशासनले जनाएको छ ।