विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक संख्यामा कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३९४ महिला र ८३४ पुरुष गरी थप १ हजार २२८ जनामा संक्रमण पुष्टि भएको छ।
काठमाडौं उपत्यकामा मात्रै ४४५ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जनामा संक्रमण पुष्टि भएको छ। राजधानी उपत्यका बाहेक सर्लाहीमा १०९ जनामा संक्रमण पुष्टि भएको छ।
प्रदेश–२ का अन्य जिल्लाहरु धनुषामा ६४, पर्सामा ६५ र बारामा ७१ जनामा संक्रमण पुष्टि भएको छ। प्रदेश १ को मोरङमा ४४, सुनसरीमा २८, झापामा १२, संखुवासभामा ६, धनकुटा र तेह्रथुममा २–२ र प्रदेश १ बाहिरका १ जनामा कोरोना देखिएको छ ।
बिहीबार थपिएको सहित संक्रमित संख्या ४२ हजार ८७७ पुगेको छ। पछिल्लो २४ घण्टामा ९१७ जना संक्रमित निको भएका छन्।
हालसम्म डिस्चार्ज हुनेको संख्या २४ हजार २ सय ७ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । संक्रमणमुक्त हुने दर ५६ प्रतिशत रहेको छ । हाल सक्रिय संक्रमित १८ हजार ४ सय १३ जना छन् ।

