विराटनगर । हतियार देखाएर विराटनगरका व्यापारीसँग रकम असुल्ने गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
हतियार देखाएर व्यापारीसँग रकम असुल्दै आएको गिरोहका एक भारतीय र चार नेपालीलाई पक्राउ गरि प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।
भदौ १६ गते कटहरी–२ आदर्शनगरका २८ वर्षीय एलेक्स भन्ने रविन शर्मा घरैबाट एकथान पेस्तोलसहित पक्राउ गपरेपछि गिरोह नै प्रहरीको नियन्त्रणमा आएको हो । शर्माको बयानको आधारमा सो गिरोहमा आबद्ध भारत सितामणी घर भई विराटनगर जलजला मोडको चाइना बजारमा कामदारको रुपमा रहेका २७ वर्षीय राजु साह, कटहरी २ का २६ वर्षीय किसन साह, २७ वर्षीय अभिषेक राय, सप्तरीको बोदेबसाईन नगरपालिका ८ बस्ने २७ वर्षीय नन्दु भन्ने नन्दकिशोर साह पक्राउ परेका हुन् ।
भारतीय नागरिक राजुलाई रेम्बो गल्लीबाट, किसनलाई देवकोटा चौकबाट, अभिषेकलाई विराटनगर ३ मा बस्दै आएका नन्दकिशोरको कोठाबाट पक्राउ गरेको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिनुभयो । उनीहरुले व्यापारीसँग पैसा माग्ने र नदिए हतियार देखाउँदै धम्की दिने गरेको अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेकामध्ये गिरोहको मुख्य नाइके अभिषेश राय रहेको प्रहरीको भनाइ छ । उनले व्यापारीहरूलाई फोन गरि धम्की दिँदै चन्दा माग्ने गरेका थिए । अभिषेकले २५ असारमा फोन गरि विराटनगरका एक व्यापारीसँग १० लाख रुपैयाँ चन्दा मागेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रमुख एसपी खड्काका अनुसार ती व्यापारीले दुई पटक गरि ५ लाख रूपैयाँ दिएको अनुसन्धानबाट खुलेको छ ।
गिरोहरूलाई पहिलो पटक विराटनगरको गुद्रीमा १ लाख र दोस्रो पटक नोबेल हस्पिटल जाने नहरमा ४ लाख रुपैयाँ चन्दा दिएको खुलेको प्रहरीले जनाएको छ । सो समूहले चन्दा असुल्न र व्यापारीलाई धम्काउन भारतबाट पेस्तोल पनि ल्याएको थियो । प्रहरीले पेस्तोल र त्यसमा लाग्ने तीन थान गोली पनि बरामद गरेको छ । पहिलो पटक चन्दा माग्दा नदिएपछि उनीहरुले ब्ययापारीको घरमा गोली पनि प्रहार गरेको खुलेको छ ।
धम्काएको पहिलो व्यापारीबाट ५ लाख रुपैयाँ असुलेपछि पक्राउ परेको गिरोहले दोस्रो व्यापारीलाई पनि धम्काएर १३ साउनमा चन्दा मागेका थिए । तर, ती व्यापारीले चन्दा दिन नपाउँदै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुले मध्यम खालका व्यापारीलाई धम्काउने गरेको खुलेको छ ।
पक्राउ परेका अभियुक्तहरूलाई मोरङ प्रहरीले ‘हातहतियार खरखजना, अपराधिक लाभ, चोरी तथा संगठित अपराध’ मुद्दामा म्याद थप गरि अनुसन्धान सुरू गरेको एसपी खड्काले बताउनुभयो । पक्राउ परेको समूहले व्यापारीलाई धम्काउन भारतदेखि पेस्तोल र त्यसमा लाग्ने ६ राउण्ड गोलीमा पनि खरिद गरेर ल्याएको प्रहरीले अनुसन्धान खुल्न आएको छ ।
पक्राउ परेको गिरोहका मुख्य नाइके अभिषेश रायले पेस्तोल मगाएको र विराटनगरको कोशी प्रोजेक्टबाट पेस्तोल रिसिभ गरेको प्रहरीले जनाएको छ । पेस्तोल ल्याउने गिरोहको खोजी कार्यलाई पनि प्रहरीले तीब्र बनाएको छ । जनाएको छ । प्रहरीले एलेक्स भन्ने रिवन शर्माको कटहरी २ आर्दशनगर घरबाट अटोमेटिक पेस्तोल र तीन थान गोली बरामद गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट ९७ हजार २ सय २० रुपैयाँ नगद, विभिन्न कम्पनीको १६ थान मोवाइल, २ थान भारतीय बैंकको चेक, घटनामा प्रयोग भएको तीन थान मोटरसाइकल र १ थान चक्कु बरामद गरेको छ । व्यापारीलाई धम्काएर चन्दा असुल्ने गिरोहले विराटनरमा भएको चोरीको घटनामा पनि संलग्न भएको हुनसक्ने भएकोले प्रहरीले त्यसतर्फ पनि अनुसन्धान सुरू गरेको छ ।
व्यापारीलाई धम्काउने गिरोहले विराटनगरमा भएको चोरीको घटनामा पनि संलग्न भएको हुनसक्ने भएकोले प्रहरीले अनुसन्धान अगाडि बढाएको एसपी खड्काले बताउनुभयो । १५ भदौमा विराटनगरको चाइना बजारमा संचालक राम नरेश साहको घर फोरेर ११ लाख रुपैयाँ चोरी भएको थियो । सो घटनामा पक्राउ परेका गिरोहको पनि संलग्न भएको हुनसक्ने भएकोले प्रहरीले त्यसतर्फ पनि अनुसन्धान अगाडि बढाएको छ ।