इटहरी । सुनसरीमा बुधबार अहिलेसम्मकै धेरै ६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
मंगलबार ५६ जनामा कोरोना सङ्क्रमण देखिएको सुनसरीमा बुधबार ६७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।
स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ फोकल पर्सन सिर्जना लिङ्थेपका अनुसार जिल्लामा ७ जना महिला र ६० जना पुरुष गरी ६७ जना संक्रमित थपिएका हुन् । संक्रमित हुनेहरूमा इटहरी उपमहानगरका ५८ जना, धरानका ७ जना, भोक्राहाका १ जना, इनरुवाका १ जना छन् ।
संक्रमित हुनेमा धरानमा इलाका प्रहरी कार्यालयका एक जना थुनुवा पनि छन् । इटहरीका संक्रमितहरु एक उद्योगका कामदार भएको बुझिएको छ ।
योसँगै सुनसरीमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ८ सय ३० पुगेको छ । अहिलेसम्म ३ सय ८५ जना कोरोनामुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

