बाँस्कोटाको अडियो प्रकरणः मिश्रलाई अख्तियारको ७ दिने पुर्जी, अनुसन्धानमा सघाउने मिश्रको विज्ञप्ति

विराटनगर । तत्कालिन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागेका विजयप्रकाश मिश्रलाई एक साताभित्र उपस्थित हुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेको छ ।

बाँस्कोटा प्रकरणमा लामो समय मौन रहेको अख्तियारले कोरोना संक्रमणको जोखिमका कारण उजुरी छानबिनको लागि बयान लिने र सोधपुछ गर्ने काम रोकेको बेला मिश्रलाई उपस्थित हुन ७ दिने सूचना निकालेको हो ।

मिश्रले मंगलबार विज्ञप्ति जारी गरेर आफूले अख्तियारलाई अनुसन्धानमा सहयोग गर्ने बताएका थिए । अडियो रेकर्ड गर्ने उपकरण जापानमा रहेकाले त्यही लिन आफू जापान आएको भन्दै उनले लकडाउनका कारण फर्किन नपाएको बताएका थिए ।

मिश्रको विज्ञप्ति आएलगत्तै अख्तियारले बुधबार गोर्खापत्र दैनिकमा सूचना निकलोको हो । बाँस्कोटासँग सेक्युरिटी प्रेस खरिदका क्रममा ७० करोड रुपैयाँको मोलमोलाईको अडियो सार्वजनिक भएपछि मिश्रसमेत विवादमा तानिएका थिए । घटनापछि पदबाट राजिनामा दिएका बाँस्कोटाले आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् ।

बाँस्कोटासँगको अडियो कुराकानी गर्ने मिश्रले भने आफू अख्तियारको दायराबाट नभागेको भन्दै थप प्रमाण आयोगमा उपलब्ध गराउने बताएका छन् । मिश्रले विज्ञप्तिमार्फत राजनीतिक आवरणमा भएको सेक्युरिटी प्रेस खरिद प्रकरणको छानबिनका लागि सहयोग गर्ने जनाएका छन् ।

अख्तियारले पत्रमार्फत आफूलाई बाँस्कोटाको अडियो रेकर्ड गर्दाको रेकर्डिङ डिभाइस बुझाउन भनेको भन्दै मिश्रले डिभाइस जापानबाट लिएर फर्कने विज्ञप्तिमा उल्लेख गरेका छन् । संसद्मा प्रतिपक्षीले समेत आफूमाथि आक्रमण गरेको भन्दै मिश्रले यो प्रकरणमा आफूले सत्य बाहिर ल्याउने बताएका छन् ।

मिश्रले सार्वजनिक गरेको अडियो टेपमा तत्कालीन सञ्चारमन्त्री बाँस्कोटाले ७० करोड रुपैयाँ कमिसन सुनिश्चित गर्न मिश्रसँग बार्गेनिङ गरेको सुनिन्छ । प्रिन्टिङ मेसिनको लागत एक अर्ब रुपैयाँ बढाउन आग्रह गर्दैै उनले कर्मचारीलाई त्यसबारे जानकारी नदिन भन्दै अश्लिल गाली गरेका छन् ।

बुधबार, १७ भदौ, २०७७, दिउँसोको १२:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर