कोरोना जितेर फर्किनेलाई टोलबासीको स्वागत

विराटनगर । २१ दिनको आईसोलेशन बसाईपछि कोरोनामुक्त भएर घर फर्किन पाउँदा विराटनगर १२ का किशोर धमला हर्षित थिए । मंगलबार घर पुग्दा उनको खुसीको सीमा रहेन ।

कोरोना संक्रमित भएर घर फर्किदा समाजले गर्ने दुर्ब्यबहारका घटना सुन्दै आएका धमला परिवारलाई भने टोलबासीले नै स्वागत गरे । फुलका गुच्छासहित भेला भएका टोलका अगुवाहरुले धमला परिवारलाई स्वागत मात्र गरेनन् सामान्य जीवनमा प्रवेश गरेको भन्दै बधाई दिए ।

कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा जति मन बेचैन थियो, फर्किएर घर आउँदा युद्द जितेर आएको अनुभुति भएको धमलाले बताए । श्रमिक नेता धमला भन्छन्, ‘संक्रमण जोसुकैलाई हुनसक्छ, तर सबैको समाजले यस्तै व्यवहार गर्ने हो भने यो सामान्य हुन्छ ।’ तर, कोरोनाको संक्रमण हुनासाथ समाजले गर्ने दुव्र्यबहारले मानिसलाई आत्मबल कमजोर मात्र बनाउने नभै रोगीसमेत बनाउन सक्ने उनले बताए ।

आफूहरूलाई समाजले गरेजस्तै हरेक संक्रमितलाई समाजले राम्रो व्यवहार र हौसला दिनुपर्ने धमलाको भनाइ छ । परिवारमा पहिलो पटक कोरोना पोजेटिभ भएर विराटनगर महानगरपालिका स्थित मारवाडी सेवा सदनमा आईसोलेशनमा धमलाको परिवारका अन्य सदस्यमा पनि पोजेटिभ देखिएको थियो । यद्यपि कसैमा पनि लक्षण नदेखिएकाले छोरा, छोरी र श्रीमती होम आईसोलेशनमा नै बसेका थिए ।

अहिले उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको छ । संक्रमित भएर घरमा बसेका सदस्यहरूलाई पनि टोलबासीले पटक–पटक स्वास्थ्य अवस्था बुझ्ने र आवश्यकताका बारेमा सोधपुछ गर्दा मनोबल घट्न नपाएको धमलाले बताए ।

स्वागत गर्न पुगेका अगुवा पदम श्रेष्ठले कोरोना जितेर फर्किनेहरुमाथि पनि समाजले गर्ने छिछि र दुरदुरको अवस्था अन्त्य हुनुपर्छ सन्देश दिन खोजिएको बताए । अर्का अगुवा जगदिश तिम्सिनाले संक्रमण जितेर आएका मानिसलाई हुने दुर्ब्यबहारको अन्त्य गर्न स्वागत गरिएको बताए ।

योबेला दुर्ब्यबहार हैन, पुरानै अवस्थामा फर्किन समाजका हरेक सदस्यले सहयोग गर्नुपर्ने तिम्सिनाको भनाइ छ ।

मङ्गलबार, १६ भदौ, २०७७, दिउँसोको ०२:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर