विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

सिराहको मिर्चैया ३ का ६५ वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको हो ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार विराटनगरस्थित विराट मेडिकल कलेजमा भदौ ९ गते कोरोना पोजेटिभ देखिएपछि भदौ १० गते धरान रेफर भई आएका पुरुषको राती ८:४५ बजे मृत्यु भएको हो । मृतकमा ज्वरो आउने, अत्याधिक टाउको दुख्ने, खोकी र श्वासप्रश्वासको समस्या रहेको थियो ।

मधुमेह र उच्च रक्तचापको पुरानो समस्या रहेका उनको भेण्टिलेटरमा राखेर उपचार भैरहेकोमा मृत्यु भएको प्रवक्ता डा. सापकोटाले बताउनुभयो । योसगै बीपीमा कोरोना संक्रमणबाट मृत्युका हुनेको संख्या १७ पुगेको छ ।

कोरोनाका कारण प्रदेश १ मा ३३ जनाको मृत्यु भइसकेको छ । जसमा प्रदेश १ का २३ र प्रदेश का १० जना रहेका छन् । प्रदेश १ मा मोरङका १७ जना, सुनसरीका ५ जना र झापाका १ जनाको मृत्यु भएको छ ।