धरान । कोरोना भाइरसको संक्रमणको कारण अहिले शल्यक्रिया गर्नुपर्ने विरामीको अनिवार्य पिसिआर परीक्षण गरिन्छ । रिपोर्ट नेगेटिभ आयो भने सहज उपचार हुने र पोजेटिभ आएमा कोभिड अस्पतालमा उपचार हुने गर्दछ ।

कोरोना पोजेटिभ रिपोर्ट आएका विरामीहरुले उपचार नै नपाएर अस्पतालमा ज्यान गुमाएको घटना एकपछि अर्को सार्वजनिक भइरहेका छन् । अन्य रोग लागेर गम्भीर विरामी भएको भएपनि कोरोना संक्रमित पहिचान भएका विरामीको उपचारमा चिकित्सक नै डराउने भएकोले उपचार सहज छैन ।

कोरोना परीक्षणविना विरामीले अस्पतालमा प्रवेश पनि नपाउने अवस्था छ । सामान्य अप्रेसनको लागि पिसिआर रिपोर्ट पर्खनु ठिकै भएपनि इर्मजेन्सी अप्रेशन गर्नुपर्ने विरामी जोखिममा छन् । सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको युरोलोजी युनिटले भने जोखिम मोलेर पिसिआर परीक्षणविनै एक विरामीको सफल शल्यक्रिया गरेको छ ।

प्रोस्टेटको समस्यासँग जुधिरहेका मोरङका ७८ बर्षीय बृद्धको कोरोना परीक्षण नहुँदै बीपीमा इमरजेन्सी शल्यक्रिया गरिएको हो । विराटनगरको एक अस्पतालमा दुई साता अगाडि गरिएको शल्यक्रिया सफल नभएकोले मुत्रथैलीमा रगत जम्ने समस्याले पीडित भएका बृद्ध भदौ ९ गते प्रतिष्ठानमा भर्ना भएका थिए ।

पिसाब बन्द हुँदा अत्यधिक दुःखाईले छटपटिरहेका बृद्धको जाँच गर्दा मुत्रथैलीमा रगत जमेको देखिएपछि आकस्मिक शल्यक्रिया गरिएको हो । पिसिआर परीक्षण गरेर रिपोर्ट पर्खदा बृद्धको जीवन तलमाथि हुने खतरा देखेपछि युरोलोजी युनिट प्रमुख डा.सुधिर सिंहले तत्काल शल्यक्रिया गर्ने निर्णय गर्नुभएको थियो ।

सिंहको नेतृत्वमा डा.आवाज काफ्लेसहित शारदा शिवा र कविता लिम्बुको टोलीले पूर्ण सर्तकता अपनाएर शल्यक्रिया गरेको थियो । शल्यक्रियापछि विरामीको पिसिआर परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आययो ।

डा.सिंहका अनुसार घण्टौंदेखि पिसाब बन्द भएर छट्पटाइरहेका विरामीको पिसिआर जाँचको रिपोर्ट पर्खने अवस्था नै नरहेकोले आकस्मिक शल्यक्रिया गरिएको थियो । पूर्ण सतर्कता अपनाएर स्वास्थ्यकर्मीले काम गरेमा कोभिड संक्रमित विरामीको उपचार पनि सहज रुपमा गर्न सकिने उहाँको भनाइ छ ।

प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार पोजेटिभ रिपोर्ट आएपछि बृद्धलाई कोभिड अस्पतालमा सारिएको छ । उनको अवस्था सामान्य बन्दै गएको प्रतिष्ठानले जनाएको छ । विरामीलाई सम्भावित कोरोना हुनसक्ने अनुमानसहित सतर्कता अपनाएर आकस्मिक शल्यक्रिया गर्ने निर्णयको कारण विरामीको जीवन रक्षा भएको प्रवक्ता सापकोटाले बताउनुभयो ।

विरामीमा कोरोना पोजेटिभ देखिएपछि संक्रमणको आशंकाले स्वास्थ्यकर्मीको टोली क्वारेन्टिनमा बसेको थियो । पाँच दिपछि आइतबार उनीहरुको पिसिआर जाँच हुँदा सबैको रिपोर्ट नेगेटिभ आएको छ । शल्यक्रियामा सतर्कता अपनाएको कारण डाक्टर तथा नर्सहरुमा कोरोना संक्रमण नदेखिएको हो ।