धरानको फुस्रे क्याम्पका १२ जना सैनिकहरुमा कोरोना

धरान । सुनसरीधको धरान १३ फुस्रेस्थित नेपाली सेनाको क्याम्पमा रहेका १२ जना सैनिकहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वाब लिइएका १४ जना सैनिकहरुमध्ये १२ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिनुभयो ।

शुक्रबार धरान १७ स्थित एन्फा क्वारेन्टिनमा स्वाब संकलन गरिएका सैनिकमध्ये २ जनाको मात्र रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य महाशाखाका अनुसार कोरोना पोजेटिभ आएका सैनिकहरुमा ३४ वर्षका ५ जना छन् भने ३० बर्षका २ जना छन् । यस्तै, अन्य ३५ बर्ष, ३६ बर्ष, २६ बर्ष, २३ बर्ष र ३१ बर्षका सैनिकहरु छन् ।

संक्रमित सैनिकलाई नेपाली सेनाको मोरङको याङ्शिलास्थित आइसोलेसनमा लैजाने तयारी भएको छ । यसैगरि, धरान १२ चतरालाइनमा थप एक जना ७६ बर्षकी वृद्धालाई पनि संक्रमण पुष्टि भएको छ । उनको छोरा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत छन् । उनलाई पनि संक्रमण पुष्टि भइसकेको छ ।

योसँगै आज धरानमा एकै दिन १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि बिहान पनि ४ जनामा संक्रमण पुष्टि भएको थियो भने धरान १७ का एकै परिवारका २ जनाको मृत्यु भएको थियो ।

सोमबार, १५ भदौ, २०७७, बिहानको ११:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर