इटहरी । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सुनसरीको इटहरीमा सय बेडको आइसोलेसन निर्माण हुने भएको छ ।
इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले इटहरी ९ रङ्गशालामा निर्माण भइरहेको आइसोलेसन सञ्चालनमा ल्याउने निर्णय भएको हो ।
इटहरीमा कोरोना संक्रमित बढ्दै गएकाले लक्षण नदेखिएका सङ्क्रमितहरूलाई राख्नका लागि आइसोलेसन निर्माण थालिएको हो । आइसोलेसन निर्माणका लागि प्रदेश सरकारले २० लाख रुपैयाँ उपलब्ध गराएको छ ।
खानेपानी, विद्युत लगायतका विभिन्न निकायहरूको सहयोगमा खानेपानी र विद्युतिकरणको कार्य भइरहेको छ । आइसोलेसन निर्माण र सञ्चालनमा ठुलो खर्च आवश्यक हुने भएकाले विभिन्न सङ्घसंस्था र दाताहरूसँग सहयोगको आग्रह गरिएको छ । बैठकमा उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष भीम पौडेलले उद्योग वाणिज्य सङ्घको तर्फबाट तीन महिनाका लागि खाद्यान्न सामाग्री सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गोर्खा वेलफेयरले ५ सय लिटर क्षमताको पानी ट्याङ्गकी जडान गरिदिएको छ ।आइसोलेसन सञ्चालनका लागि प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा मुल व्यवस्थापन समिति गठन गरिएको छ । यसै गरी वडाध्यक्षहरू भूपेन्द्र बरालको संयोजकत्वमा वडाध्यक्षहरू चन्द्र भट्टराई, दीपक गौतम, शिव नारायण चौधरी,मणिराम श्रेष्ठ र कार्यपालिका सदस्य गौरी परियार,उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष भीम पौडेल, महासचिव पीताम्बर पोखरेल र उपमहानगरका कर्मचारी महेश सुवेदी सदस्य सचिव रहेको उपसमिति गठन गर्ने निर्णय भएको छ ।
बैठकमा सुनसरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र र नेपाली सेनाका प्रतिनिधिको पनि सहभागिता थियो ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।