विराटनगर । मोरङको बेलबारी नगरपालिका ५ कसेनीको लोहन्द्रा खोलामा भएको ग्याङ फाइटमा एक जनाको मृत्यु भएपछि घटनामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले टोलीले शुक्रबार राति नै उनीहरुलाई पक्राउ गरेको हो ।
शुक्रबार दिउँसो भएको ग्याङ्ग फाइटमा घाइते भएका बेलबारीका चन्द्रकुमार राईको उपचारको क्रममा विराट टिचिङ्ग हस्पिटलमा मृत्यु भएको थियो । घटनामा अन्य तीन जना घाइते भएका छन् ।
स्थानीय दिनेश श्रेष्ठको समूहले खुकुरी प्रहार गरि ४२ वर्षीय सईकुमार राई, ३५ वर्षीय समुन्द्र राई, १६ वर्षीय गौरव राई घाइते भएका हुन् । उनीहरूको उपचार बिराट टिचिङ हस्पिटलमै भइरहेको छ ।
प्रहरीले ग्रामथान ६ बस्ने ३२ वर्षिय बिरेन्द्र कुमार खाँ, बेलबारी नगरपालिका ६ का ३८ वर्षिय बिशाल कुमार खवास गच्छदार, सोही ठाउँका ३१ वर्षिय राजेन भन्ने राजिन्द्र राई (थुलुङ), मोरङ ग्रामथान ६ का ३१ वर्षिय दिपेन्द्र चौधरी र ३४ वर्षिय जितेन्द्र चौधरीलाई पक्राउ गरेको छ । घटनामा संलग्न ८ जना फरार रहेका छन् ।
पक्राउ परेकाहरू प्रहरीले कर्तब्य ज्यान मुद्दामा म्याद थप गरि अनुसन्धान सुरु गर्ने भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिनुभयो ।
आइतबार कर्तब्य ज्यान मुद्दामा म्याद थपेर अनुसन्धान सुरु गरिने प्रहरीले जनाएको छ । घटनमा अरूको पनि संलग्नाता देखिएको भन्दै प्रहरीले उनीहरूको पनि खोजी कार्य भइरहेको जनाएको छ ।
‘बिहीबार साँझ दुवै पक्षबीच मदिरा सेवन गरि सामान्य वादविवाद भएको रहेछ,’ मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले भन्नुभयो, ‘त्यहि विवादको कारण शुक्रबार विहान बेलबारी ५ कसेनीको पुलमा ग्याङ्ग फाइट भएको रहेछ ।’