विराटनगर । अस्पतालले काेराेना नेगेटिभ भन्दै आफन्तलाई जिम्मा लगाएको मोरङको पथरी शनिश्चरेका एक पुरुषको शब प्रहरीले बाटोबाटै नियन्त्रणमा लिएको छ ।
न्यूरो अस्पताल विराटनगरले शनिबार कोरोना नेगेटिभ भन्दै आफन्तको जिम्मा लगाएको पथरीशनिश्चरेका ६१ बर्षिय पुरुषको अन्तिम रिपोर्ट पोजेटिभ रहेको खुलेपछि प्रहरीले बाटोबाटै शव नियन्त्रणमा लिएको हो ।
भदौ ३ गते न्युरोमा भर्ना भएका उनको स्वाब बिहीबार संकलन गरिएको थियो । शनिबार उपचारको क्रममा मृत्यु भएपछि आफन्तले नेगेटिभ रिपोर्ट जानकारी अस्पतालमा गराए । अस्पतालले त्यसको भेरिफाई नगरी शव जिम्मा लगाएको थियो । तर, उनमा कोरोना पोजेटिभ रहेको रिपोर्ट ल्याबबाट आएपछि प्रशासनलाई खबर गरेको न्यूरो अस्पताल विराटनगरका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले बताउनुभयो ।
मृतकको शब आफन्तले सुन्दरहरैचा क्षेत्रमा शव पुर्याएपछि प्रहरीले रोकेको थियो । कोरोना संक्रमितको शव कानेपोखरी जंगल क्षेत्रमा अन्त्यष्टि गर्ने गरिएको छ । उनको शव बोकेको गाडी रोकेर अन्त्यष्टिका लागि सेनाको जिम्मा लगाइएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले अस्पतालको लापरवाहीले यस्तो अवस्था आएको बताउनुभयो । स्वाब परीक्षणको रिपोर्ट नआइ अस्पतालले शव जिम्मा लगाएको उहाँको भनाई छ ।
मुटु तथा मलेरिया रोगबाट पीडित बनेका मृतक पुरूषसहित मोरङमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

