विराटनगर । विराटनगरको न्यूरो अस्पतालमा चार दिन अगाडि मृत्यु भएका कारोना संक्रमितको शव शुक्रबार मात्र उठेकोछ ।

मंगलबार मृत्यु भएका कोरोना संक्रमितको शव आफन्त सम्पर्कमा नआउँदा अस्पतालमै रहेकोमा शनिबार स्थानीय प्रशासनले उठाएर अन्तिम संस्कारको लागि लगेको हो ।

महोत्तरी घर भएका ६१ वर्षीय पुरुषको मृत्युपछि परिवारका सदस्य सम्पर्कविहिन थिए । बिरामी अवस्थामा भर्ना गरिएका मृतककको कुरुवाका रुपमा छोरा अस्पताल आएको भएपनि मृत्युपछि उनी सम्पर्कविहीन भएका थिए ।

महोत्तरीबाट शव लिनलाई कोही पनि नआएपछि विराटनगरबाटै एम्बुलेन्स खोजेर शव महोत्तरी पठाइएको छ । न्युरो अस्पतालको कोभिड–१९ मेनेजमेन्ट एण्ड रेस्पोन्स टिमका सदस्यले शव एम्बुलेन्समा राखेर पठाएको अस्पतालका डाइरेक्टर रञ्जीतराज बस्नेतले जानकारी दिनुभयो ।

कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनको जिम्मेवारी स्थानीय प्रशासनको हो। तर, यस घटनामा महोत्तरी प्रशासनले चासो नदिएपछि चार दिनसम्म संक्रमितको शव अस्पतालमै रहेको थियो ।

न्युरो अस्पतालले वृद्धको उपचारका क्रममा लागेको अस्पतालतर्फको २ लाख २५ हजार र फार्मेसीतर्फको ७० हजार रुपैयाँ छुट गरिएको जनाएको छ । टाउकाको नसा सुकेर प्यारालाईसिस भएका पुरुषलाई साउन ३१ गते अस्पतालमा उपचारका लागि ल्याइएकोमा भदौ ७ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।