धनकुटा । धनकुटामा शनिबार १३ प्रहरीसहित १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या ३९ पुगेको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा गरिएको पीसीआर परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

संक्रमण पुष्टि हुनेहरुमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत १३ प्रहरी र दुरसञ्चार प्राधिकरणमा कार्यरत ४ जना कर्मचारी र धनकुटा बजारका २ जना सर्वसाधारण छन् । संक्रमित प्रहरीहरु हालै विराटनगरबाट सरुवा भएर आएका हुन् ।

यसअघि एकैपटक सरुवा भएर आएका अन्य २ जना प्रहरीमा पनि संक्रमण पुष्टि भइसकेको छ । जिल्लामा एकैदिन संक्रमण पुष्टि भएको यो नै सबैभन्दा ठूलो संख्या रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईंले जानकारी दिनुभयो ।

जिल्लाका संक्रमितमध्ये १७ जना निको भइसकेका छन् । दुई जनाको मोरङको गोठगाउँस्थित कोभिड अस्पताल र एक जनाको विराटनगरस्थित कोभिड अस्पतालमा उपचार भइरहेको छ