विराटनगर। बितेको २४ घण्टामा कोरोना भाइरसबाट नेपालमा थप १२ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर शुक्रबार ९२७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । संक्रमितमा ३३४ महिला र ५९३ जना पुरुष रहेका छन् । मृतकमा ४ महिला र ८ पुरुष रहेको शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार मृतक महिलामा मोरङका २ तथा भक्तपुर र मकवानपुरका १–१ जना रहेका छन् । यस्तै पुरुषमा उदयपुर, पर्सा, धनुषा, सिरहा, झापा, चितवन, कास्की र रुपन्देहीका १–१ जना रहेका छन् ।

देशभर कुल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ । यस्तै शुक्रबार काठमाडौंमा ३५० ललितपुरमा ११ र भक्तपुरमा ५४ गरी ४१५ जनामा संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा १६९ जना निको भएका छन् भने यससँगै निको हुनेको संख्या २० हजार २४२ पुगेको छ ।

प्रदेश १ मा एकैदिन ४ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा प्रदेश १ मा चार जनाको मृत्यु भएको छ । विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा एक जना र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जनाको मृत्यु भएको हो ।

विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा सिरहाको लहान घर भई विराटनगर बस्दै आएकी ६५ वर्षीय महिलाको विहान १०ः४५ बजे मृत्यु भएको हो । उता बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना भाइरस संक्रमितको शुक्रबार बिहान मृत्यु भएको हो । मृत्यु हुनेमा झापाका एक वृद्ध पुरुष र मोरङकी एक महिला रहेका छन् ।

उपचारका क्रममा झापाको कमल गाउँपालिका–३ का ८३ वर्षीय वृद्धको शुक्रबार बिहान ३ः४५ बजेतिर मृत्यु भएको हो । मोरङ बेलबारीकी महिलाको पनि बिहान ३ः१५ मा मृत्यु भएको हो ।

यस्तै विपीमा बिहीबार बेलुका सिरहाका ५५ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।