उदयपुर । काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएका उदयपुरको त्रियुगा–४ का ५२ वर्षीय एक शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

निमोनियाको आशंकामा गत मंगलबार राति ११ बजे शिक्षण अस्पतालमा पुर्‍याइएका शिक्षकलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएका उनी साउन २८ देखि बिरामी रहेकोमा भदौ २ गते जिल्ला अस्पताल बोक्सेमा सामान्य उपचारपछि घर फर्किएका थिए । अस्पतालको औषधिले ठिक नभएपछि भदौ ४ गते त्रियुगा–३ स्थित राजेश हेल्थकेयर सेन्टर प्रालिमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार नभएपछि भदौ ८ गते राति काठमाडौं लगिएको थियो ।

लिम्चुङबुङ गाउँपालिका–१ स्थित आधारभूत प्राथमिक विद्यालयबाट सरुवा भई त्रियुगा–७ स्थित आधारभूत विद्यालय कौवाईमा हाजिर भएका उनको मृत्युपछि शिक्षण अस्पतालमा स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । शिक्षकलाई कोरोना देखिएको जानकारी आएको बताउँदै जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले उनको संक्रमणको स्रोत नखुलेको बताउनुभयो ।

शिक्षकको मृत्युपछि कोरोना पुष्टि भएकोले उनको उपचार गरेको गाईघाटस्थित हेल्थकेयर ‘सिल’ गरिएको छ ।