विराटनर । विराटनगरस्थित कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा शुक्रबार एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
सिरहाको लहान घर भएकी ६५ वर्षिय महिलाको उपचारको क्रममा शुक्रबार विहान १०ः४५ मा मृत्यु भएको हो ।
दिर्घरोगी रहेकी विरामीको स्वासप्रश्वासमा समस्या भएपछि बिहीबार विहान कोशी अस्पताल भर्ना गरिएको थियो । सोही दिन साँझ उनलाई कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
‘आइसोलेशनमा राखेर उपचार भइरहेको थियो,’ कोभिड उपचार केन्द्रका डा.दिपक सिग्देलले भन्नुभयो, ‘विरामीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा मृत्यु हुनपुग्यो ।’
प्रहरीले भने मृतक महिला लाहान घर भइ विराटनगर–१० मा डेरा बस्दै आएको जनाएको छ । महिलाको शव व्यवस्थापनको पहल भइरहेको छ ।
यसअघि शुक्रबार विहान धरानस्थित बीपी कोभिड अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । योसँगै प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ । उनीहरुमध्ये प्रदेश २ का ८ जना छन् भने ३ जना धरानका, १ जना झापाका र १६ जना मोरङका हुन् ।
कोरोनाबाट मोरङको बेलबारीका १ जना, बुढीगंगाका २ जना, रंगेलीका १ जना, सुनवर्षीका १ जना र विराटनगरका १२ जनाको मृत्यु भइसकेको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।