शुक्रबार विहानै वीपीमा दुई जना कोरोना संक्रमितको मृत्यु

विराटनगर । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको शुक्रबार विहानै  मृत्यु भएको छ ।

मोरङको बेलबारी ५ की ५६ वर्षीया महिला र झापाको दमक नगरपालिका–३ का ८३ वर्षीय पुरुषको शुक्रबार विहान मृत्यु भएको हो ।

प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार झापाका बृद्धलाई बि एण्ड सि हस्पिटलले रिफर गरेको थियो । अत्यधिक खोकी, श्वास फेर्नमा समस्या र ज्यरो आएपछि उनलाई परिवारले बीएण्डसी अस्पताल भर्ना गरेका थिए ।

बृद्धलाई भदौ ३ गते कोरोना पोजेटिभ पुष्टि भएपछि बीपीमा भर्ना गरिएको थियो । उनको कोभिड अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान ३ः४५ मा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । मृगौलाको समस्या भएका उनको डायलाइसिस पनि गर्नुपरेको थियो । उमा उच्च रक्तचाप, मधुमेह र अल्परक्त कोषिकाको पनि समस्या भएको प्रतिष्ठानले जनाएको छ ।

मृतकको परिवारका एक जना सदस्यमा पनि सङ्क्रमण देखिएको थियो । उनलाई मेची प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको बताइएको छ । झापाको कमल गाउँपालिकाले भने मृतकको घर कमल ३ केर्खा भएको जानकारी दिएको छ ।

अर्का मृतक बेलबारीकी महिला कोशी अस्पतालबाट रिफर भएर वीपीमा भदौ ९ गते भर्ना भएकी थिइन् । अत्यधिक खोकी, श्वास फेर्नमा समस्या र ज्यरो आएपछि कोशी हुँदै बीपीमा भर्ना भएकी महिलाको सोही दिन पिसिआर पोजेटिभ आएको थियो ।

मृतकको आफन्तसँग सम्पर्क हुन नसकेकोले उनमा कुनै दिर्घकालिन रोग भए नभएको खुल्न नसकेको प्रतिष्ठानले जनाएको छध । उनको पनि बिहान ३ः१४ मा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

दुवैको शवको नियम अनुसार व्यवस्थापनको कार्य भइरहेको पनि प्रतिष्ठानले जनाएको छ ।

शुक्रबार, १२ भदौ, २०७७, बिहानको ०८:१६ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर