विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

सिराहा जिल्लाका ५५ वर्षिय पुरूषको उपचारको क्रममा बिहीबार मृत्यु भएको हो ।

बीपी प्रतिष्ठानको कोभिड हस्पिटलको आइसीयूमा उपचारको क्रममा संक्रमितको बिहीबार ६ः४५ मा उनको  मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो । स्वाश्सप्रश्वास, ज्वरो र खोकी भएर स्वास्थ्यमा समस्या आएपछि उनी प्रतिष्ठानमा भदौ ६ गते भर्ना भएका थिए ।

उनमा ७ भदौमा कारोना संक्रमण पुष्टि भएको प्रष्तिठानले जनाएको छ । दिर्घरोगी रहेका संक्रमित उच्च रक्तचाप भएको र टिबि रोगको औषधी सेवन पनि गर्दै आएका थिए । ‘स्वास्थ्यमा समस्या आएपछि मेडिकल वार्डमा भर्ना गरेर उपचार भइरहेको थियो,’ प्रतिष्ठानका प्रवक्ता सापकोटाले भन्नुभयो, ‘संक्रमण देखिएपछि कोभिड अस्पतालमा भर्ना गरेको र दुई दिनपछि स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि आइसियूमा राखेर उपचारको क्रममा मृत्यु हुन पुग्यो ।’

मृतकको शव व्यवस्थापनको तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ । यो योसँगै प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ । जसमा ७ जना प्रदेश २ का छन् भने ३ जना सुनसरीको धरानका र १५ जना मोरङका हुन् ।