विराटनगर । जिल्ला कारागार मोरङमा कैद भुक्तान गर्दै आएका एक जना कैदीको मृत्यु भएपछि मानव अधिकारकर्मीहरूले निरीक्षण गरेका छन् ।
घटनाको अवस्थाबारे जानकारी लिन इन्सेक १ नम्बर प्रदेश कार्यालय विराटनगरका प्रमुख सोमराज थापासहितको टोलीले बिहीबार कारागार निरीक्षण गरेको हो ।
लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका विराटनगर ४ का २६ वर्षीय निराजन यादवको बुधबार साँझ मृत्यु भएको थियो । मृतकका परिवारकाले यातना दिएको कारणले उनको मत्यु भएको आरोप लगाएपछि अधिकारकर्मीको टोली कारागार पुगेको हो ।
मानव अधिकारकर्मीहरूले जिल्ला कारागार मोरङका जेलर सुवासकुमार लामिछानेसँग घटनाबारे बुझेका छन् । जिल्ला कारगार मोरङका जेलर लामिछानेका अनुसार मृतकमा छारे रोगको समस्या थियो । कारागारमा कुटपिट भए नभएको पोष्टमार्टमपछि खुल्ने उहाँले बताउनुभयो ।
कुटपिटपछि मृत्य भएको भए छुट्टै निकाय बनाएर छानबिन हुने कारागार प्रशासनको भनाइ छ । ‘कारागारभित्र यातना दिएको थियो वा थिएन् भन्ने यसै भन्न सकिन्न् । सबै पोस्मार्टमपछि खुल्छ,’ उहाँले भन्नुभयो, ‘रिपोर्टले कुटपिट भएको देखाए छानविन गर्न सकिन्छ ।’
बुधबार ४ः १५ मा कारागारबाट कोशी अस्पताल पु¥याउँदा यादवको मृत्यु भइसकेको चिकित्सकले जनाएका छन् । मृतकको शरीरमा निलडाम रहेकाले कुटपिटपछि हत्या भएको आफन्तको आरोप छ । आफन्तले कुटपिटपछि हत्या गरेको आरोप दाबी गर्दै विरोध गरेपछि प्रहरीले शव पोष्टमार्टम गरी छानविन गर्ने भन्दै आफन्तको जिम्मा लगाएको छ ।
कोरोना जाँच गर्दा रिपोर्ट नेगेटिभ आएपछि पोष्टमार्टम गरी बिहीबार शव आफन्तको जिम्मा लगाएको हो । यादव लागूऔषध मुद्दामा १ वर्ष ९ महिना १९ दिन कैद फैसला भएका व्यक्ति हुन् । २०७६ फागुन ११ गते उनी कारागार चलान भएका थिए ।

