आरोपीलाई छुटाउन खोजेको भन्दै गोली प्रहार गर्दा स्थानीयको मृत्यु, आरोपी भने छाडिए

घटनाको विरोधमा सडक अबरुद्ध गरेर कामाटोलीबासी आन्दोलित

विर्तामोड । गोरु काटेको अभियोगमा पक्राउ परेकालाई जिल्लामा ल्याउन अबरोध गरेको भन्दै बुधबार झापा गाउँपालिकामा गोली चलाएको प्रहरीले घटनापछि पक्राउ परेकाहरुलाई भने छाडिदिएको छ । गोरु काट्नेलाई पक्राउ गर्न अबरोध गरेको भन्दै गोली चलाएको प्रहरीले स्थानीय रसिकुल आलमको मृत्युपछि भने उनीहरुलाई छाडेर फर्किएको थियो ।

झापा गाउँपालिका–३, कामाटोलीमा गोरु काटेको अभियोगमा दुई जनालाई पक्राउ गरेर जिल्ला सदरमुकामतर्फ लैजाने क्रममा विवाद भएको थियो । त्यसक्रममा प्रहरीले चलाएको गोली लागेर ३८ वर्षीय आलमको मृत्यु भएको थियो ।

स्थानीयको मृत्युपछि प्रहरीले पक्राउ गरेका स्थानीय ५२ वर्षीय अब्दुल सलाम र ५२ वर्षीय ताजबुल हकलाई छाडेको हो । स्थितिलाई मथ्थर बनाउन र शान्ति सुरक्षा कायम गर्नका उनीहरुलाई छाडिएको झापा प्रहरीले जनाएको छ ।

घटनापछि मृतकका परिवारले उनको शव बुझ्न मानेका छैनन् । मृतकलाई शहीद घोषणा गर्नुपर्ने, प्रहरी निरीक्षकलाई कारबाही गर्नुपर्ने र धर्म निरपेक्षता व्यवहारमा लागू हुनुपर्ने माग गर्दै उनीहरु आन्दोलित छन् ।

झापा प्रहरीले बुधबार साँझ जारी गरेको प्रेस नोटमा पहिचान खुल्न नसकेको पशु चौपायाको मासु टुक्रा पारेको अवस्थामा फेला पारेको जनाएको छ । कामटोलीमा अभियुक्तलाई ल्याउने क्रममा स्थानीय अवरोध गरेपछि स्थिति तनावपूर्ण भएको प्रहरीको भनाइ छ ।

नेपाली काँग्रेसले भने सामान्य स्थितिमा सशस्त्र प्रहरीले गोली चलाएर सर्वसाधारणको ज्यान लिएको भन्दै घटनाको छानविनको माग गरेको छ । प्रहरीले पूर्वसजगता नअपनाउँदा मानवीय क्षति भएको काँग्रेसको भनाइ छ ।

घटनापछि स्थानीय मुस्लिम समुदायले विभिन्‍न १० बुँदे माग राख्दै कामाटोलीमा प्रदर्शन गरिरहेका छन्। उनीहरुले बाटो अवरोध गरी टायर बालेर प्रदर्शन गरिरहेका छन्। गोली लागेर मृत्यु भएको आलमको शव बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमै छ ।

झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले समस्या समाधानको लागि प्रशासन र स्थानीयबीच छलफलको सहजिकरण गरिरहेको जानकारी दिनुभएको छ । स्थानीय मुस्लिम समुदायले मृतकलाई शहीद घोषणा गर्नुपर्ने, १० लाख रुपैयाँ राहत दिनुपर्ने, परिवारलाई शिक्षासहित रोजगारको व्यवस्था गर्नुपर्ने, सशस्त्र र नेपाल प्रहरीका दुवै प्रहरी निरीक्षकलाई कारबाही गर्नुपर्ने, प्रहरीको ज्यादती बन्द गर्नुपर्ने, धर्मनिरपेक्षा व्यवहारमा कार्यान्वयन हुनुपर्नेलगायतका माग राखेका छन् ।

बिहिबार, ११ भदौ, २०७७, दिउँसोको ०२:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर