विराटनगर । नेपालमा बुधबार राति र विहीबार विहान कोरोना भाइरसको संक्रमण पुष्टि भएकी एक गर्भवति महिलासहित ५ जनाको मृत्यु भएको छ ।

बाराकी कोरोना संक्रमित गर्भवती महिलाको बिहीबार बिहान बीरगञ्जको नारायणी अस्पतालमा मृत्यु भएको हो ।

अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार बाराको हर्दियानिवासी २३ वर्षीया महिलाको मृत्यु भएको हो । ३३ हप्ताकी गर्भवती उनमा ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि आफन्तले उनलाई नारायणी अस्पतालमा भर्ना गरेका थिए । नेपालमा कोरोनाले गर्भवतीको मृत्यु भएको यो पहिलोपटक हो ।

उता बुटवल कोरोना अस्पतालमा कपिलवस्तुका ५० वर्षीय संक्रमितको मृत्यु भएको छ । भदौ ५ गते अस्पतालमा भर्ना भएका कपिलवस्तु–१ तौलिहवाका ५० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । बिरामीलाई उच्च रक्तचाप, मधुमेह र मिर्गौलामा समस्या रहेको बताइएको छ ।

यसैगरी कोरोना संक्रमित ३२ वर्षीया महिलाको बिहीबार बिहान पोखरामा निधन भएको छ । पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड–१९ उपचार केन्द्रको आईसीयूमा उपचार गराइरहेकी महिलाको निधन भएको हो ।

पोखरा महानगरपालिका–११ की उनी भदौ ७ मा प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा भर्ना भएकी थिइन् । उनमा कुनै पनि किसिमको दीर्घ रोग थिएन ।

यसैगरी एक जना मिर्गौला बिरामीसहित पर्साका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–१४ बहुअरीका ६२ वर्षीय पुरुषको बिहीबार बिहान नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा मृत्यु भएको हो ।

चिकित्सकका अनुसार कोरोना मिर्गौलाका बिरामी रहेका उनको अस्पतालमै नियमित डायलसिससमेत भइरहेको थियो । गत साउन ३० मा उनी कोरोना अस्पतालमा भर्ना भएका थिए ।

यसैगरी बुधबार साँझ नारायणी अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको थियो । मृत्यु हुनेमा पर्साको धोबनी गाउँपालिका–३ गुलरिया निवासी ७२ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।