बिर्तामोड । झापाको झापा गाउँपालिका– ३ कामाटोलीमा बुधबार प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
गोरु काटेको आरोपमा पक्राउ गर्न पुगेको प्रहरी र स्थानीयबासीबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर स्थानीय ३८ वर्षका रमिफुन आलमको मृत्यु भएको हो ।
घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा विर्तामोडस्थित बिएमसी अस्पतालमा मृत्यु भएको हो । गोली लागेर गम्भीर घाइते उनको उपचारको क्रममा मृत्यु भएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जानकारी दिनुभयो।
गोरु काटेको खबर पाएपछि प्रहरीको टोली कामाटोली बजार पुगेर घटनास्थलवाट दुई जनालाई पक्राउ गरी गोरुको टाउको र खुट्टा बरामद गरी फर्कने क्रममा स्थानीयबासीले आक्रमण गरेका थिए । सशस्त्र प्रहरीको झापा गाउँपालिकास्थित बिओपीका इन्स्पेक्टर सचन श्रेष्ठकाा अनुसार स्थानीयले आक्रमण गरेपछि प्रहरीले फाइरिङ गरेको हो । घटनामा सशस्त्र प्रहरीका एक जवान पनि घाइते भएको बताईएको छ ।
झडप भएपछि थप मद्दतका लागि सशस्त्र प्रहरी टोली घटनास्थल पुगेको थियो । मुसलमान बाहुल्य सो क्षेत्रका सयौंको संख्यामा स्थानीयहरुले टायरको पुल्ठो बालेर प्रहरीमाथि आक्रमण गरेको झापा प्रहरीले बताएको छ ।

