काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार कोरोनाबाट थप २ महिला र ९ पुरुषको मृत्यु भएको छ । बुधबार मृत्यु हनेमा मोरङकी ४६ र भक्तपुरकी ५३ वर्षीया महिलासहित अन्य ९ पुरुष छन् ।
मृतकहरुमा कैलालीका ४५ र ५० वर्षीय २, महोत्तरीका ६०, ७२ र ७५ वर्षीय ३, बाराका ४१ र ४६ वर्षीय २, बाँकेका ३७ वर्षीय १,, काठमाडौंका ५१ वर्षीय १ पुरुष रहेका छन् । योसँगै कोरोनाले नेपालमा ज्यान गुमाउनेको संख्या १७५ पुगेको हो ।
पछिल्लो २४ घण्टामा देशभर ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १३ हजार २५३ जनाको पीसीआर परीक्षण गर्दा ८८५ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कुल संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ।
गएको २४ घण्टामा ३८५ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या १९ हजार ५०४ पुगेको छ भने १४ हजार ७३९ जना आइसोलेसनमा रहेका छन्। जसममध्ये ६ हजार २८ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

