विराटनगर । मोरङ्गको जहदा गाउँपालिकामा वडा नं. ७ स्थानान्तरणको बिषयलाई लिएर एकलौटी ढङ्गबाट आयोजना गर्न लागिएको गाउँसभा बैठक स्थगित गरिएको छ ।
आईतबार जहदा गाउँपालिकाकी १ महिलामा कोरोना संक्रमण पुष्टि भएलगत्तै जिल्ला प्रशासन कार्यालय मोरङ्गले गाउँसभा नगर्न मङ्गलबार आदेश दिएपछि बैठक स्थगित गरिएको हो ।
जहदा गाउँपालिका वडा नं. ७ को कार्यालय स्थानान्तरण गर्ने बिषयमा विवाद उत्पन्न हुँदा गाउँपालिका अध्यक्ष कैलाशप्रसाद मण्डलले एकलौटी ढङ्गबाट गाउँसभा बैठक आयोजना गर्न लागेको आरोप छ । तर, मोरङ प्रशासनको आदेशपछि बुधबार आयोजना हुन लागेको बैठक स्थगित गरिएको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद–४ मा सभाको बैठक बर्षमा २ पटक बस्ने प्रावधान विपरित ६ महिना नपुग्दै अर्को सभा आयोजना गर्न लागिएको थियो । गाउँपालिकामा यसअघि असार १० गते गाउँसभा बैठक बसेको थियो ।
जहदा-७ को कार्यालय साविकमा भारतीय सीमावर्ती क्षेत्र नजिकै रहेको महादेवकोल भन्ने स्थानमा रहेकोमा उक्त ठाउँ विभिन्न दृष्टिकोणबाट आम जनसमुदायलाई अपायक र असहज हुन गएकोमा वडाबासीकै ईच्छा र आग्रह अनुरुप गत साउन १८ गतेदेखि डोनबोस्को टोलस्थित आशा भवनमा सारिएको थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ बमोजिम नेपाल सरकारले प्रदेश सरकारको परामर्शमा वडा नं. ७ का लागि तोकेको केन्द्र त्यही हो ।
जिल्ला समन्वय समिति मोरङले वडाका केन्द्रहरु सुचीकृत गर्ने क्रममा जहदा-७ को केन्द्र डोनबोस्को टोल नै रहेको उल्लेख गरेको छ । तर, गाउँपालिका अध्यक्ष मण्डलले वडा समितिको निर्णय नभएको र वडाको आफ्नो भवनसमेत नभएको भन्दै महादेवकोलबाटै कार्यालय सञ्चालन गर्न निर्देशन दिएपछि विवाद बढेको थियो । वडा कार्यालय आफ्नै टोलमा हुनुपर्ने अध्यक्षको निर्णयले विवाद झिकेको स्थानीय गंगाराम हेम्ब्रमको आरोप छ ।
साविकमा वडा नं. ७ को कार्यालय रहेको महादेवकोल भन्ने स्थान गाउँपालिका अध्यक्ष मण्डलको स्थायी बसोबास रहेको टोल हो । कार्यालय आफ्नै टोलमा रहने निर्णय गर्न मण्डलले गाउँसभा आयोजना गरेका थिए ।
वडा कार्यालय साविककै स्थानमा राख्ने विषयमा अध्यक्ष मण्डलले एकलौटी फैसला गर्न थालेपछि कानुनी उपचार खोज्दै स्थानीयले गत साउन ३० गते उच्च अदालत विराटनगरमा रिट हालेका थिए । उच्च अदालत विराटनगरले पनि साउन ३२ गतेको फैसला अनुसार जहदा गाउँपालिका र वडा नं. ७ को कार्यालयलाई निवेदकको माग बमोजिमको आदेश किन जारी नहुनुपर्ने बिषयमा १५ दिने जवाफ मागेको थियो । त्यसबारे अन्तरिम आदेश दिने नदिनेबारे भदौ २४ गते अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । तर, अदालतमा मुद्दा विचराधिन रहेको बेला अध्यक्ष मण्डलले कार्यालयबारे निर्णय गर्ने प्रयास गरेका थिए ।
विगत ३ वर्षदेखि महादेवकोलमै वडा नं. ७ को कार्यालय सञ्चालन हुँदै आएकोले सार्न नहुने अध्यक्ष मण्डलको भनाई छ । वडाध्यक्षको सहयोगमा सो स्थानमा वडा कार्यालयको भवन बनाउन २० लाखको बजेटमा जग्गा घेराबारा गर्ने र खाल्डाखुल्डी पुर्ने काम भएकोले अन्यत्र सार्न नहुने उहाँको दाबी छ ।
केन्द्रद्वारा वडा नं. ७ को कार्यालय डोनबोस्को टोल तोकेपनि हाल आशा भवनबाट वडा कार्यालय सञ्चालन हुँदै आईरहेकोले यसमा विवाद गर्न नहुने अध्यक्ष मण्डलको निष्कर्ष छ ।