गौतमबुद्ध क्रिकेट रंगशाला धमाधम बन्दै (फोटो)

विराटनगर । चितवनको भरतपुरस्थित वडा नम्बर १५ रामपुरमा धुर्मस–सुन्तली फाउण्डेशनद्वारा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको काम धमाधम चलिरहेको छ ।

कोरोना भाइरस संक्रमणको जोखिम भएपछि गएको चैत ९ गतेबाट रोकिएको काम बैशाख २० गतेबाट पुनः सुरु भएको थियो । त्यसयता भने काम रोकिएको छैन ।

धुर्मुस सुन्तली फाउन्डेसनको फेसबुक पेजमा रंगशाला निर्माणको पछिल्लो काम टाइबिम र ब्याक फिलिङ निरन्तर अगाडि बढिरहेको उल्लेख गर्दै आजैमात्र केही हेर्न लायक तस्बिरहरु सार्वजनिक गरिएको छ ।

‘विषम परिस्थितिको कारणले स्वास्थ्य सुरक्षाका नितिहरु अपनाउँदै अगाडि बढे तापनि निर्माणसँग सम्बन्धित सेप्टि (ओएसएचए अथवा एनइबिओएसएच) सम्बन्धि जानकारी भएको अनुभवी दक्ष ब्यक्तित्वहरुको आवश्यकता परेकाले यस बिशाल अभियानमा जोडिनुहुन हामी हार्दिक अनुरोध गर्दछौं,’ धुर्मुस सुन्तली फाउन्डेसनको फेसबुक पेजमा उल्लेख गरिएको छ ।

कोरोना भाइरस संक्रमणका कारण देशका ठूला परियोजनाहरु प्रभावित बनेका बेला क्रिकेट रंगशालाको काम भने निरन्तर भइरहेको भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले जानकारी दिनुभयो ।

‘कोरोना भाइरस संक्रमणका कारण देशका ठूला परियोजनाहरु प्रभावित बनिरहेका बेला चितवनको भरतपुर–१५ रामपुरमा निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम भने अटुट रूपमा चलिरहेको छ,’ दाहालले मंगलबार सामाजिक संजालमा फेसबुकमा पोष्ट गरेको तस्बिरसहितको स्टाटसमा भनिएको छ ।

रंगशाला निर्माणमा फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) आफैँ खटिरहेका छन् । रंगशालाले विस्तारै आकार लिन थालेको छ । रंगशालामा प्याराफिट निर्माणको बेस र पिलरको काम भैरहेको छ । रंगशालामा हाल दैनिक १३१ जना कामदारलाई खटिइरहेका छन् ।

आर्थिक स्रोत जुटे अबको १८ महिनाभित्र रंगशाला निर्माणको काम सकिने फाउन्डेसनको विश्वास छ । २० बिघा जग्गामा बनिरहेको रंगशालाको लागत २ अर्ब ६० करोड हाराहारी हुने अनुमान गरिएको छ ।

केही तस्बिरहरु


तस्बिरहरुः धुर्मुस सुन्तली फाउन्डेसनको फेसबुक पेजबाट साभार

मङ्गलबार, ०९ भदौ, २०७७, दिउँसोको ०२:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर