विराटनगर । कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भएका पुरुषका आफन्त सम्पर्कमा नआएपछि उनको शव विराटनगर महानगरपालिकाले व्यवस्थापन गरेको छ ।
धनकुटा घर र नाम दीपक शेर्पा बताउने करिब ५० वर्षका पुरुषलाई मोरङको पथरीबाट विरामी अवस्थामा उपचारको लागि अस्पताल ल्याइएकोमा उपचारको क्रममा गत शुक्रबार मृत्यु भएको थियो ।
कोरोनाको आशंका गरिएपनि उनको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले शव मुर्दाघरमा राखेर आफन्तलाई जिम्मा लगाउन प्रतिक्षा गरेकामा कोही आफन्त वा परिवारका सदस्य सम्पर्कमा आएनन् । परिवार, चिनजान र नातागोताका कोही पनि सम्पर्कमा नआएपछि अस्पतालले महानगरमार्फत कानूनी प्रक्रिया पूरा गरेर शवको व्यवस्थापन गरेको हो ।
पथरीशनिश्चरे नगरपालिका–१ स्थित सडकमा छटपटाइरहेका बेला उनलाई प्रहरीले उद्धार गरेर बिहीबार राति अस्पताल ल्याएको थियो । ज्वरो आउने गरेको बताएका पुरुषलाई एम्बुलेन्समा राखेर उपचारका लागि अस्पताल ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
प्रहरीलाई ती पुरुषले आफ्नो नाम दीपक शेर्पा र घर धनकुटा भएको बताएका थिए । ती पुरुष पथरीशनिश्चरे क्षेत्रमा केही समयदेखि ज्यालामजदुरी गरेर जीविका चलाउँदै आएको खुलेको छ ।
आफन्त र परिवारका सदस्यको टुँगो नलागेपछि शव व्यवस्थापन गरिएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले बताउनुभयो । मृतकले दिएको अस्पष्ट ठेगानाका आधारमा प्रहरी लगाएर खोजी गरिए पनि कोही आफन्त फेला पार्न नसकिएको मोरङ प्रहरीले जनाएको छ ।
महामारीकै रुपमा फैलिएको कोरोनाकै त्रास र भयका कारण घटना थाहा भएपपनि शव जिम्मा लिन आफन्त एवं परिवारका सदस्य नआएको अनुमान प्रहरीले गरेको छ ।

