सबैको पिसिआर परीक्षणपछि आरती सञ्चालनमा

विराटनगर । भारतीय मजदुरको कारण कोरोना संक्रमण फैलिएपछि बन्द भएको मोरङको बुढीगंगा गाउँपालिका–१ मा रहेको आरती स्ट्रिप्स शनिबारबाट सञ्चालनमा आएको छ ।

उद्योगमा कार्यरत ६०० बढि मजदुर र कर्मचारीको पिसिआर परीक्षणपछि उद्योगलाई सेनिटाइज गरेर सञ्चालनमा ल्याएको उद्योगका प्रमुख सञ्जीव शर्माले जानकारी दिनुभयो ।

उद्योगमा कार्यरत सबैको पिसिआर परीक्षण गर्दा ६२ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितहरुलाई उद्योगले आफ्नै कम्पाउण्डमा आइसोलेसन बनाएर राखेको छ ।

लुकिछिपी आएका भारतीय कामदारको कारण उद्योगक २ मजदुरमा सुरुमा कोरोना देखिएको थियो । त्यसपछि उद्योग बन्द गरी मजदुरहरुलाई क्वारेन्टाइनमा राख्नुपर्नेमा उद्योग सञ्चालन गर्दा अन्य मजदुरलाई पनि कोरोना देखिएको थियो ।

मजदुरलाई कोरोना देखिएपछि उद्योगले आफ्नै खर्चमा सबै मजदुरको पिसिआर परीक्षण गराएको उद्योगका जनरल मेनेजर जीवन तिम्सिनाले जानकारी दिनुभयो । कोरोना परीक्षणपछि संक्रमितलाई आइसोलेशनमा राखेर अन्य मजदुरबाट आंशिक रुपमा उद्योग सञ्चालनमा आएको हो ।

अहिले उद्योगको एउटा प्लान्ट मात्र सञ्चालनमा आएको छ । जस्तापाता, डण्डी र पाइप उत्पादन गर्दै आएको उद्योग निर्यातजन्य उद्योग हो । उद्योगमा ७० प्रतिशत भारतीय मजदुर कार्यरत छन् ।

शनिबार, ०६ भदौ, २०७७, दिउँसोको ०३:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर