विराटनगर । प्रदेश १ मा कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै जाँदा संक्रमितको अवस्थाबारे सरकार नै बेखबर हुने अवस्था बन्न थालेको छ ।
आइतबार अपरान्हसम्म २ हजार ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा सक्रिय संक्रमितको संख्या ९२१ छ । जसमध्ये ४३४ जनाको अवस्थाबारे प्रदेश सरकारसँग कुनै तथ्यांक छैन ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार संक्रमितमध्ये १०७५ जना कोरोनामुक्त भएका छन् भने १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरु ४ जना प्रदेश नं. २ हुन् भने १० जना मोरङका हुन् । मृतकहरु मोरङको विराटनगरका ७ जना, बुढिगंगाका १ जना, रंगेलीका १ जना र सुनवर्षीका १ जना छन् ।
प्रदेशबाट अहिलेसम्म १०७५ जना कोरोनामुक्त भएका छन् । त्यसबाहेक सक्रिय रहेका ९२१ संक्रमितहरुमध्ये होम आइसोलेशन, आइसोलेसन र कोभिड अस्पतालमा रहनेको संख्या ४८७ मात्र छ । त्यसबाहेकका ४३४ जना संक्रमितको सम्पर्कमा सरकार नपुगेकोले उसँग कुनै छैन ।
सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार मात्र प्रदेशको राजधानी विराटनगरमा ८६ सहित प्रदेश १ मा १०३ जना संक्रमित थपिएका छन् । आइतबारको संख्या घटाउने हो भनेपनि शनिबारसम्म संक्रमण पुष्टि भएका ३३१ जनाको अवस्थाबारे सरकार बेखबर देखिएको छ । संक्रमितहरु होम आइसोलेशनमा छन् कि अस्पतालको आइसोलेशनमा छन् भन्ने कुनै जानकारी सरकारलाई छैन ।
तथ्यांकअनुसार अहिले प्रदेशभरी होम आइसोलेसनमा रहनेको संख्या ९१ मात्र रहेको छ । हरेक दिन कोरोना संक्रमित बढ्दै जाँदा सरकारले निर्माण गरेका कोभिड अस्पताल र आइसोलेसन भरिभराउ हुँदा कोरोना संक्रमितहरु घर, परिवार समाजमा अलपत्र छन् । होम आइसोलेसनमा बस्नेको संख्या पनि ९१ मात्र हुँदा अन्य संक्रमित कहाँ छन् भन्ने जवाफ सरकारी निकायसँग छैन ।
मन्त्रालयले दिएको तथ्यांक अनुसार आइतबार कोशी कोभिड अस्पताल विराटनगरमा ५३, मारवाडी सेवा सदन विराटनगरमा ३५, कोभिड आइसोलेशन अस्पताल गोठगाउँमा ९०, रंगेली जनता क्याम्पस आइसोलेसन केन्द्रमा ६९, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पताल धरानमा ७८ र बीजी अस्पताल आइसोलेशन हरिनगरामा २३ जना संक्रमित छन् । यस्तै उदयपुरको चौदण्डीगढी आइसोलेसन केन्द्रमा १९, झापाको आइसोलेसन केन्द्रमा १९, खोटाङ अस्थायी आइसोलेसनमा ६ र ताप्लेजुङ अस्थायी आइसोलेशन केन्द्रमा ४ जना संक्रमित राखिएको छ । विराटनगर महानगरपालिकाले आफैं व्यवस्थापन गरेको बैजनाथपुर स्थित स्वास्थ्य चौकीमा रहेका १९ संक्रमितको रेकर्ड भने प्रदेश सरकारले राखेको छैन ।
सामाजिक विकास मन्त्रालयको कोभिड १९ निगरानी, तथ्याङ्क संकलन तथा अनुगमन समितिको सचिवालयका संयोजक डा. सरोज बिशालले भने होम आइसोलेसनको सबै विवरण आइनसकेकोले यस्तो देखिएको बताउनुभयो । उहाँका अनुसार प्रादेशिक आपतकालिन व्यवस्थान केन्द्रले पठाएको तथ्यांक अहिले राखिएको छ । सबैको तथ्यांक नआएकोले उनीहरुको अपडेट नभएको जानकारी दिँदै उहाँले विस्तारै तथ्यांक अपडेट गर्ने जानकारी दिनुभयो ।
कोरोना संक्रमितको दर बढिरहेको बेला संक्रमितलाई घर, परिवार र समाजबाट अलग राख्नसके मात्र महामारी नियन्त्रणमा लिनसकिने विज्ञहरुले सुझाब दिँदै आएका छन् । तर, सरकारले पर्याप्त आइसोलेसन केन्द्र बनाउन नसक्दा संक्रमितहरु अलपत्र बनेका छन् । घरमै होम आइसोलेशन बसिरहेका संक्रमितलाई पनि कुनै सोधपुछ र रेखदेख हुन सकेको छैन ।
प्रदेश प्रदेश सरकारले गत जेठमा ८५० बेडको आइसोलेशन बनाउने भनि गरेको निर्णय कागजमै सीमित भएपछि पछिल्लो प्रदेशस्तरीय सीसीएमसीको बैठकले ३५० बेडको आइसोलेसन बनाउने निर्णय गरेको थियो । त्यसअनुसार निर्माण भएका विराटनगरको मारवाडी सेवा सदन र रंगेलीको जनता क्याम्पसको आइसोलेसन करिब भरिएको छ । तर, थप आइसोलेसन निर्माणबारे कुनै पहल भएको छैन ।