विराटनगर । संघीय संसदले नेपालको अद्यावद्यिक राजनीतिक तथा प्रशासनिक नक्सासहितको नयाँ प्रतिक तयार पारेको छ ।

तयार पारिएको उक्त प्रतिक (लोगो) आईतबार संघीय संसदका पदाधिकारीहरुलाई हस्तान्तरण गरिएको छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दहाललाई लोगो हस्तान्तरण गरे ।

सभामुख सापकोटा, अध्यक्ष तिमिल्सिना र उपाध्यक्ष दाहालले आईतबारदेखि नै नयाँ लोगो लगाएका छन् । गत जेठ ११ गते बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसदका सदस्यहरुले प्रयोग गर्दैै आएको लोगो नेपालको अद्यावधिक नक्सा अनुसार परिमार्जन गर्ने निर्णय गरेको थियो । बैठकमा सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि संघीय संसदमा प्रयोग हुँदै आएको लोगो र रोष्टममा प्रयोग हुँदै आएको लोगो पनि परिमार्जन गर्ने निर्णय गरिएको थियो ।

दुई लाल सुनको जलप लगाइएको नयाँ लोगोमा १ तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास रहेको छ । लोगो बाग्मती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयले निर्माण गरेको हो ।

प्रति लोगो खर्च भने ५ हजार ५ सय २७ रुपैयाँ लागेको जनाईएको छ ।