विराटनगरमा लकडाउनलाई कडा पारिने, लखरलखर हिँडे कारबाही

लकडाउन गरिएको भएपनि प्रहरीको आँखा छल्दै बजार तथा पसलहरु सटर लगाएर भित्रभित्रै चलिरहेको छ

विराटनगर । ‘दाई काँहाबाट आउनु भएको, काँहा जाने,’ पुष्पलाल चोकमा मोटरसाइकल रोकेर एक्कासी एक प्रहरी जवानले सोधे, मैले भनें, ‘मिलनचोक जाने हो, कामको लागि ।’ उनले पुनः भने, ‘आज त जानु भोलिदेखि मोटरसाइकल र साइकलमा पनि जान–आउन रोक लगाएको छ, भोली यसरी नहिंड्नु होला ।’ फेरि मैले सोधें ‘अत्यावश्यक सवारीलाई त छुट होला नि ?’ उनले भने, ‘त्यो चाहिं माथि सोध्नु होला, तर, भोलीदेखि कडाइ हुँदैछ ।’

विराटनगरमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले लकडाउनलाई भोली (आइतबार)देखि थप कडाइ गर्ने भएको छ । समुदायस्तरमा फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न विराटनगरभित्र महानगरपालिकाले घोषणा गरेको लकडाउनलाई कार्यान्वयन गर्न मोरङ प्रहरीले अघिल्लै दिन (शनिबार)देखि नै नागरिकलाई सचेत गराइरहेको छ ।

विराटनगरमा लकडाउन घोषणा गरिएको भएपनि प्रहरी र प्रशासनको आँखा छल्दै सवारी साधन आवतजावत मात्रै नभएर बजार तथा पसलहरु सटर लगाएर भित्रभित्रै चलिरहेको छ । ‘आ… कोरोना, सोरोनाले के गर्छ र लागे पनि नमिरिने त रहेछ’ भन्दै सर्वसाधरणले हेलचेक्र्याइँ पनि गरिरहेका छन् ।

दोस्रो पटक घोषणा गरेको पहिलो चरणको लकडाउनमा आवतजावत खुकुलो थियो, बजार पसल पनि आंशिक खुलेका थिए । तर, दिनप्रतिदिन विराटनगर क्षेत्रमा कोरोना भाइरस तीव्र फैलिएपछि महानगरपालिकाले भदौ ५ गतेसम्म लकडाउन थपेको छ । सो लकडाउन प्रभावकारी कार्यन्वयन गराउन आइतबारदेखि अनावश्यक रूपमा हिँडडुल र सवारी साधन कुदाउनेलाई प्रहरीले कारवाहीको दायरमा ल्याउने तयारी गरेको छ ।

‘अनावश्यक रूपमा नहिँडि कोरोना भाइरसबाट जोगिन घरमै सुरक्षा सावधानी अपनाएर बसिदिन आग्रह गर्दै हामीले माइकिङ गर्दै आएका छौं,’ मोरङका प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले भन्नुभयो, ‘आइतबारदेखि कडाइको साथ लकडाउनको प्रभावकारी कार्यन्वयन हुनेछ । अनावश्यक रूपमा हिँड्नेलाई अहिलेसम्म सम्झाइ बुझाइ गर्दै आएका थियौं, अब बिना काम लखर–लखर हिँडनेलाई कारवाहीको दायरमा ल्याउँछौं ।’

के छ कानूनी व्यवस्था

संक्रामक रोग ऐन, २०२० को दफा २ मा अनुसार नेपाल सरकारले मानिसमा उब्जेको वा फैलिएको वा फैलिने सम्भावना भएको कुनै संक्रामक रोग निर्मुल गर्न वा सो रोग रोकथाम गर्नका लागि आवश्यक व्यवस्था मिलाउन कुनै अधिकारीलाई मुकरर गरी आवश्यक अधिकार सुम्पन्न सक्ने उल्लेख छ । उक्त ऐन अन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिबाना वा दुवै हुन सक्ने कानूनी व्यवस्था छ । यस्तै यो ऐन अन्तर्गत अधिकृत व्यक्तिलाई काममा बाधा पु¥याउनेलाई ६ महिनासम्म कैद वा ६ सय रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनसक्ने पनि उल्लेख छ ।

विराटनगरमा शनिबार दिउँसो मात्र ४० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । हालसम्म संक्रमितको सख्या ४ सय ८२ पुगेको छ । कोरोनाको कारण मृत्यु हुने संख्या विराटनगरमा ६ पुगेको छ । जसमध्ये विराटनगर ९ का २, विराटनगर ३, ५, १० र १५ वडाका १÷१ जनाको मृत्यु भइसकेको छ । कोरोनाको कारण मृत्यु हुने सबै पुरुष छन् ।

शनिबार, ३१ साउन, २०७७, साँझको ०७:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर