वेष्ट मेनेजमेन्ट ग्रुप नेपाल प्रालिले हटायो पेटी कन्ट्र्याक्टर

विराटनगरको फोहोर व्यवस्थापन साझेदार कम्पनी आफैंले गर्ने

कार्की नेतृत्वको समूहले कम्पनीको आम्दानी आफ्नो नीजि खातामा जम्मा गरी अपचलन गरेको भनाइ

विराटनगर । विराटनगरको फोहोर व्यवस्थापनको जिम्मा लिएको वेष्ट मेनेजमेन्ट ग्रुप नेपाल प्रा.लि. जेभीले उदयद्वीप कार्की नेतृत्वको पेटी कन्ट्र्याक्टरसँगको सम्झौता रद्ध गरेको छ ।

वेष्ट मेनेजमेन्ट गु्रप नेपाल प्रा.ली.ले विगत चार वर्षदेखि विराटनगर महानगरपालिकाको फोहरमैला संकलन र व्यवस्थापनको काम गर्दै आएको छ । सार्वजनिक निजी साझेदारी अवधारणा बमोजिम सम्झौता गरी नगरको फोहरमैला संकलन र व्यवस्थापन गर्ने कार्यलाई थप प्रभावकारी बनाउन भन्दै उक्त कम्पनीले २ वर्ष अगाडि उदयद्वीप कार्की नेतृत्वको समूहलाई पेटी कन्ट्र्याक्टरको रुपमा भित्र्याएको थियो ।

तर, कार्की नेतृत्वको समूहबीचमा नै आपसी विवाद र असमझदारी भएका कारण सम्झौता बमोजिमका व्यवस्थापकीय जिम्मेवारी पुरा नभएको वेष्ट मेनेजमेन्ट ग्रुप (फोहरमैला व्यवस्थापन परियोजना विराटनगर)ले जनाएको छ । २०७७ असार मसान्तसम्म आइपुग्दा कार्की नेतृत्वको समूहले कम्पनीको आम्दानी आफ्नो नीजि खातामा जम्मा गरी अपचलन गरेको, कर्मचारीहरुको पारिश्रमिक ४ महिनासम्म पनि भुक्तानी नगरेको, ढुवानीको साधनको भाडा समयमा भुक्तानी नगरेको, कामको सिलसिलामा दुर्घटनामा परी घाइते भएका कर्मचारीको उपचार खर्च भुक्तानी नगरेर नोबल अस्पतालमा अलपत्र छोडेको, नगरको फोहरमैला संकलन र व्यवस्थापनमा हेलचेक्र्याई तथा बेवास्ता गरेको वेष्ट मेनेजमेन्टको भनाइ छ ।

‘जसका कारण विराटनगर महानगरपालिकाले कम्पनीलाई स्पष्टीकरणसमेत सोधिसकेको अवस्थामा सफाई जस्तो संवेदनसिल कार्यलाई असन्तुलित हुन नदिनका लागि जिम्मेवारी महसुस गर्दै सम्झौता अवधिभरको हिसाब किताबको लेखापरीक्षण गराई हिसाबकिताब मिलान तथा फरफारक गर्ने गरी मिति २०७७/०४/०१ देखि नगरको सरसफाईको सम्पूर्ण व्यवस्थापकीय जिम्मेवारी कम्पनी आफैंले लिई सञ्चालन गर्न थालेको कुरा सबैमा जानकारी गराइन्छ,’ फोहरमैला व्यवस्थापन परियोजना विराटनगरले बुधबार सार्वजनिक गरेको अपिलमा उल्लेख छ, ‘साथै सम्झौताकर्तामध्येका उदयद्वीप कार्की र निजकी पत्नी सविता रिजालले कम्पनीको जिम्मेवारीबाट अलग भएपछि पनि कार्यालयको अघिल्लो आर्थिक वर्षको पुरानो बिलमार्फत् अनाधिकृतरुपमा सेवाग्राहीबाट नगद असुल्ने कार्य गरी रहेको प्रमाण फेला परेकोले यस्तो कार्यले कम्पनीको स्रोत अपचलन हुने ठानी निजहरुले प्रयोग गरेको बिल नं. ४०१ देखि ५०० सम्मको बिल खारेज गरिएको छ ।’

मेनेजमेन्ट ग्रुपले सम्पूर्ण नगद असुलिको कारोवार कम्पनीसँग रहेको भन्दै निजहरुसँग कुनैपनि प्रकारको आर्थिक कारोवार नगर्न र गरेमा कम्पनी जवाफदेही नहुने व्यहोरा समेत स्पष्ट पारेको छ । आगामि दिनमा फोहोर व्यवस्थापनको कार्य अझ चुस्त दुरुस्त ढंगले गरिने फोहरमैला व्यवस्थापन परियोजना विराटनगरका संयोजक देवीप्रसाद आचार्यले जानकारी दिनुभयो ।

बुधबार, २१ साउन, २०७७, साँझको ०५:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर