पहिरो पीडितलाई आजै राहत वितरण हुन्छः मन्त्री कुसियैत

विराटनगर । संखुवासभास्थित सिलिचुङ गाउँपालिका बेसिन्दाका पहिरो पीडितलाई आजै राहत वितरण गरिने प्रदेश १ को दैनिक उपभोग्य वस्तु आपूर्ति व्यवस्थापन समितिका निर्देशक समेत रहनुभएका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियैतले बताउनु भएको छ ।

पहिरो गएको ४ दिन वितिसक्दा पनि सरकारको तर्फबाट उचित राहत पुगेको गुनासो स्थानीयबाट आइरहेका बेला मन्त्री कुसियैतले यस्तो बताउनु भएको हो । उहाँले हिंजै साँझ राहत वितरण गर्ने भनिएको भएपनि मौसमको कारण नसकिएकोे बताउँदै आज एकसरो राहत वितरण गरिने बताउनु भयो ।

‘खराब मौसमका कारण हेलिकप्टरबाट राहत सामाग्री चित्रे लैजान सकिएन, जसले गर्दा राहत वितरणमा ढिला भयो,’ मन्त्री कुसियैतले भन्नुभयो, ‘यो बीचमा हामीले स्थानीय तहलाई भनेर मानिसले भोकै मर्नु भएन भनेका छौं, स्थानीय जनप्रतिनिधिहरुले अहिले त्यहाँ काम गरिरहनु भएको छ, त्यहाँ राहत वितरण र व्यवस्थापनमा भएको खर्चको जिम्मा प्रदेश सरकारले लिन्छ, आजै हामीले राहत वितरण गर्छौं ।’

मन्त्री कुसियैतले पहिरोबाट विस्थापित भएकाहरुको स्वास्थ्यमा समस्या आउन नदिन स्थानीय स्वास्थ्यकर्मीलाई परिचालन गरिएको पनि बताउनु भयो । ‘हामीले त्यहाँका स्थानीय स्वास्थ्यकर्मीलाई त्यहाँ गएर स्वास्थ्य उपचार तथा औषधिको जोहो गर्न भनेका छौं,’ काम भइरहेको पनि छ, ‘सरकारका प्रतिनिधिहरु पीडित भएको स्थान मै छन् ।’

त्यहाँ राज्यका सबै संयन्त्र रहेको भन्दै राज्यविहीनताको अवस्था भने नरहेको उहाँले बताउनु भयो । त्यहाँस्थित पहिरोको जोखिम क्षेत्रका स्थानीयलाई पुनःस्थापनाका लागि प्रदेश सरकारले छलफल गरिरहेको र स्थानको टुंगो एक÷दुई दिनमा टुंगो लगाउने मन्त्री कुसियैतले बताउनु भयो । ‘मौसममा सुधार आएपछि हामी एकपटक त्यहाँ जान्छौं, पुनःस्थापनाको लागि अर्को ठाउँको पहिचान गर्छौं, म आफू पनि मंगलबार राहत लिएर संखुवासभा गएँ, सोमबार मुख्यमन्त्रीले पनि हेलिकप्टरबाट सो ठाउँको अवलोकन गर्नुभएको छ,’ मन्त्री कुसियैतले भन्नुभयो, ‘हामीले राहत, उद्धार र पीडितको उपचार तथा पुनःस्थापनामा कुनै कसर बाँकी राख्दैनौं ।’

बुधबार, ३१ असार, २०७७, दिउँसोको ०१:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर