सलहको ठूलो फौज नेपाल प्रवेश गर्न सक्ने जोखिममा

तराई तथा भित्री मधेशका भू–भागहरुमा बिशेष सतर्कता अपनाउन आग्रह

विराटनगर । भारतको राजस्थानबाट उत्तरतर्फ लागेको सलहको ठूलो फौज नेपाल प्रवेश गर्नसक्ने जोखिम रहेको सलह सूचना केन्द्रले जनाएको छ ।

राजस्थानको सिकर आसपासको ४ सय हेक्टर जमिनमा फैलिएको सलहको ५ वटा फौज नेपाल प्रवेश गर्नसक्ने जोखिममा रहेको केन्द्रले जनाएको हो । केन्द्रले तराई तथा भित्री मधेशका भु–भागहरुमा बिशेष सतर्कता अपनाउन तथा आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ ।

भारतको सीतापुर तथा साहजहाँपुर क्षेत्र हुँदै अघि बढ्ने अनुमान गरिएको सलहको उक्त फौज हावाको बहावसँगै नेपाल प्रवेश गर्न सक्ने प्लान्ट क्वारेन्टाईन तथा बिषादी व्यवस्थापन केन्द्र अन्र्तगत रहेको सूचना केन्द्रका प्रमुख रामकृष्ण सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अनुकुल मौसममा राजस्थानको मरुभुमी (पश्चिम) तर्फ जानुपर्ने परिपक्व हुँदै गरेका सलहका फौजहरु हावाको बहावसँगै पूर्व उत्तरतर्फ लाग्न सक्ने पूर्वानुमान गरिएको छ ।’

भारतको राजस्थानबाट दक्षिण पश्चिमी वायुको प्रभाव बढ्दै जाँदा राजस्थानमा रहेका सलहका फौजहरु भारतको हरियाणा, मध्यप्रदेश, उत्तरप्रदेश तथा छत्तिसगढ हुँदै अगाडि बढ्न सक्ने प्रक्षेपण गरिएको छ ।

त्यसमध्येका केही फौजहरु भने केही दिनमै नेपाल प्रवेश गर्न सक्ने सम्भावना देखिएको केन्द्रको भनाई छ ।

असार २६, २०७७, दिउँसोको ०१:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर