विराटनगर । केही दिनयता जारी अविरल बर्षासँगै खोला तथा नदीमा आएको बाढीका कारण करिब ५ सय मेगावाट विद्युत् उत्पादन बन्द भएको छ ।
नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको स्वामित्वमा रहेका विद्युत गृहहरुबाट क्रमशः करिब २४० र २५० मेगावाट विद्युत् उत्पादन बन्द भएको हो । बर्षाका कारण मुलुकभरको विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित भएको जनाईएको छ ।
बाढीका कारण प्राधिकरणका विद्युत गृहबाट करिब ४० प्रतिशत विद्युत् उत्पादन बन्द भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । उहाँले ‘विद्युत उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित पनि केही ठाउँमा न्यूनतम विद्युत् कटौती गरी आपूर्तिको व्यवस्थापन गरिरहेको जानकारी दिनुभयो । घिसिङले भन्नुभयो, ‘आफ्नो उत्पादन बन्द भएपछि कटैया र ढल्केबरबाट विद्युत आयात गरि आपूर्तिको व्यवस्थापन भईरहेको छ ।’
हाल बन्द रहेका विद्युतगृह र प्रसारण तथा वितरण लाईन सञ्चालन गरि विद्युत् आपूर्तिको व्यवस्थापन मिलाउन अहोरात्र प्राविधिक टोली खटाईएको छ ।
बाढीका कारण नेपालकै सबैभन्दा ठूलो १ सय ४४ मेगावाटको कालीगण्डकी ‘ए’ विद्युतगृह शुक्रबार बिहान ८ बजेबाट बन्द भएको छ । कालीगण्डकी नदीमा पानीको बहाव बढसँगै विद्युत उत्पादन रोकिएको छ । प्राधिकरणका अनुसार हाल ७० मेगावाटको मध्यमस्र्याङदी, १६ मेगावाटको त्रिशूली र १४ मेगावाटको देवीघाट विद्युतगृह बन्द छन् ।
भारी वर्षाले गर्दा भने ईलामको सिद्धीथुम्कामा काबेली करिडोर प्रसारण लाइनमा समेत क्षतिपुग्दा यस लाइनमा जोडिएका विद्युत आयोजनाहरुको करिब १५० मेगावाट विद्युत उत्पादन बन्द भएको छ ।


