सम्पादकीय
लिम्पियाधुरासहितको भुभाग समेटिएको नेपालको नक्सा परिवर्तनको लागि संविधान संशोधन प्रक्रियामा समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले सबै नेपालीको मन छुने सम्बोधन गरेका थिए । मधेस केन्द्रित दलहरुमाथि एकथरीले भारत परस्तको आरोप लगाउने गरेकोमा दुई नेताहरुले मुलधारका राजनीतिक दलहरुलाई च्यालेञ्ज नै गरे । महाकाली सन्धिमा भएको राष्ट्रघातको प्रसंग उठाएर उनीहरुले आफूहरुको राष्ट्रिभक्तिमा लान्छना नलगाउन चेतावनी मात्र दिएनन्, महाकाली सन्धिमा भएको राष्ट्रघातप्रति सन्धि गर्नेहरुले माफी माग्नुपर्ने बताए । वास्तवमै नेपालको भूमि रक्षाको लागि सीमा क्षेत्रमा रहेका मधेसी जनताको योगदान अमूल्य छ । भारतीय हस्तक्षेप र दादागिरीसँग भिडेर उनीहरुले भूमि रक्षामा देशभक्त सिपाहीको भूमिका खेलका छन् । तर, कतिपय नेताहरुको कारण सिंगो समुदायलाई लाञ्छित गर्ने गरिएको छ ।
उसो त नेपालमा भएका राष्ट्रघात मानिएका घटनाक्रम हेर्ने हो भने त्यसको नेतृत्वमा कहिल्यै मधेसी समुदायका शासक नरहेको सत्य हो । असमान मानिएका कोशी, कर्णाली, गण्डक वा महाकाली सन्धि पनि राष्ट्रवादको चर्को कुरा गर्नेहरुले नै गरेका थिए । त्यसकै जवाफ संसदमा उभिएर मधेस केन्द्रित दलका नेताहरुले दिए । नेपाली भूभाग समेटिएको नक्सा जारी गर्न भएको संविधान संशोधन प्रक्रियामा सिंगो मुलुक एकमत भयो । अझै कतिपयले त्यसलाई आफू एक्लैले गरेको भन्दै जस लिने प्रयास गरिरहेका छन् । प्रधानमन्त्री केपी ओलीले त नक्सा जारी गरेकै कारण आफूलाई हटाउन भारतले प्रयास गरिरहेको र त्यसमा नेकपाकै नेतााहरुको मिलेमतो रहेको विवादित अभिव्यक्ति दिए । जबकी त्यसअघि पार्टीको केन्द्रिय समितिले नक्सा जारी गर्न निर्देशन दिँदा पनि अस्वीकार गर्दै आएका ओली पार्टी सचिबालयले दोहो¥याएर दिएको निर्देशनपछि मात्र नक्सा जारी गर्न तयार भएका थिए । यसमा मामिलामा नक्साको विरुद्ध लाग्ने पार्टीका सांसद सरिता गिरीलाई पार्टी र संसदबाटै निष्काशन गर्ने साहसिक निर्णय समाजवादी पार्टीले गरेको छ ।
नयाँ नक्सा जारी गर्ने संविधान संशोधन विधेयकमा संशोधन प्रस्ताव पनि दर्ता गराएर त्यस विरुद्ध अभिव्यक्ति गिरीले दिएकी थिइन् । उनले लिम्यिाधुरा भारतकै भएको जिकिर गर्दै पार्टीले लगाएको ह्विप पनि उल्लंघन गरिन । मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डताको विरुद्ध संसद सदस्यबाट गरिएको त्यो हर्कत पक्कै पनि क्षम्य थिएन । त्यहि भएर समाजवादी पार्टीले उनलाई पार्टी र संसद दुबैबाट निष्काशन गर्ने निर्णय गरेको छ । जुन ऐतिहासिक र साहसिक निर्णय हो । राष्ट्रियताको पक्षमा सबै नेपालका राजनीतिक दलहरुको लागि पनि सिक्नलायक निर्णय समाजवादीले गरेको छ । सबै राजनीतिक दलहरुले विगत र वर्तमानमा राष्ट्रियता कमजोर बनाउन लागिपर्नेहरुको पहिचान गरी त्यसको समिक्षा गर्दै उनीहरुलाई सबक सिकाउन सक्नुपर्छ ।