ईटहरी । पूर्वी पृतना हेडक्वाटर इटहरी अन्तर्गत रहेका विभिन्न युनिटहरुमा गत पुसमा सञ्चालन भएको सैन्य आधार तालिममा सहभागी ७७१ जना दिक्षित भएका छन् ।
करिब ७ महिनाको कठोर सैन्य आधारभूत तालिमपश्चात असार १९ गते भएको दीक्षान्त समारोहबाट सिपाही दर्जामा प्रवेश गरेका छन् ।
उनीहरु नेपाली सेनामा रहेको विभिन्न युनिट र फर्मेशनको रिक्त रहेको दरबन्दीमा नियुक्त भएका छन् । पास आउटको बेला तालिमरत शिक्षार्थीहरुको आफन्तहरुलाई दीक्षान्त समारोह हेर्नको लागि निमन्त्रणा गर्ने गरिएको भएपनि हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ संक्रमणलाई मध्यनजर राख्दै आफन्तजन तथा अन्य पाहुनाहरुलाई निमन्त्रणा नगरिएको पूर्वी पृतना हेडक्वाटर ईटहरीले जनाएको छ ।
यसरी पास आउट हुनेमा धनकुटा जिल्लामा अवस्थित नं. २ बाहिनी अड्डाबाट १४२ जना, धनकुटा जिल्लाकै सल्लेरी ब्यारेकमा अवस्थित बरख गणबाट ७९ जना, उदयपुर जिल्लाको बोक्से गाईघाट स्थित रणशार्दुल गणबाट ९५ जना, झापाको चारआलीमा अवस्थित नयाँ श्रीनाथ गणबाट ९८ जना, ओखलढुंगा जिल्लाको अरिदमन गणबाट ८६ जना, मोरङको थलाहा स्थित सूर्यदल गणबाट ९४ जना, मोरङकै याङ्गशिला स्थित कालीशक्ती गण (ईन्जिनियर)बाट ६० जना र मोरङको लेटाङ स्थित पूर्वी पृतना तालिम शिक्षालयबाट ११७ जना गरी कुल जम्मा ७७१ जना सैन्यहरु सिपाहीमा प्रवेश गरेका छन् ।
सो अवसरमा विभिन्न ईभेण्ट (दौड, चाँदमारी फायरिङ्ग, बाधापार र ड्रिलमा प्रथम हुने सैन्यहरुलाई पुरस्कार वितरण गरिएको थियो भने तालिम अवधिभर सर्वोत्कृष्ट हुने सैन्य (शिक्षार्थी) लाई खुकुरी होल्डर घोषित गरी पुरस्कार वितरण गरिएको थियो ।


