सुन्दर र रमणीय वडा बनाउनेछु

 मधुबावु तिवारी

सबैभन्दा धेरै सरकारी कार्यालय रहेको वडाको रुपमा पर्दछ विराटनगर महानगरपालिकाको ७ नम्बर वडा । अन्य वडाको तुलनामा यहाँको जनघन्त्व पनि बढी छ । वडाभित्र पूर्वाधार विकासलाई पहिलो प्रथामिकतामा राखेर वडाभित्र धमाधम विकास निर्माणको काम भइरहेको छ । बर्षायाम सुरू भएकोले विपद् व्यवस्थापनमा सक्रिय भएर लागि परेका छन् । वडा भित्रको विकास निर्माण र आगामी योजनाको बारेमा विराटनगरका ७ का वडाध्यक्ष मधुबावु तिवारीसँग हाम्रोमतले गरेको कुराकानी:

वडाभित्र विकास निर्माणको काम कसरी भइरहेका छन् ?

– सीमित स्रोत साधनको उच्तम प्रयोग गरी अहिले विकास निर्माणको कामहरू भइरहेका छन् । यस वडामा सबैभन्दा बढी सरकारी कार्यालय र थुप्रै स्वास्थ्य संघसंस्था छन् । थुप्रै सडकहरू पनि वडा भित्र रहेको छ । हालसम्म वडाभित्र ६ सय ७० मिटर सडक कालोपत्रे (पिच) भएको छ । थप बाटोहरु कालोपत्रे हुने क्रम जारी छ । यस्तै पानीको निकासका लागि नाला निर्माणको कम पनि भइरहेको छ । वडाभित्र रहेको विभिन्न सडक किनारका १७ सय ८० मिटरसम्म नाला निर्माण पूरा भएको छ । अरू पनि हुने क्रममा रहेको छ । आरसीसी नाला निर्माण १ सय २९ मिटर पूरा भएको छ । भित्री बाटाहरूमा रिटेनिङ्ग वालको काम पनि भइरहेको छ । हालसम्म १ सय ३६ मिटरको रिटेनिङ्ग वालको काम पूरा भएको छ । नालमा स्ल्याव लागाउने काम पनि भइरहेको छ । १३ सय २५ मिटर नालामा स्ल्याव लगाउने काम पूरा भएको छ । यस्तै भित्री बाटोहरुमा च्याम्बर नाला र ढलाइको कामहरु पनि भइरहेको छ ।

वर्र्षायाम सुरू भएको छ । बिपद् व्यवस्थापनमा के कस्ता काम भएको छ ?

वर्षायाममा सबैभन्दा बढी वडाबासीलाई दुःख दिने खोला हो सिंघीया । यस पटक हामीले बिपत व्यवस्थापनको काम गरेका छौं । सिंघीया खोलामा आउने बाढीबाट बस्ती जोगाउन हामीले करिब ५ सय ८० मिटर तटबन्धन गरेका छौं । झण्डै ३÷४ महिना अगाडि दरिलो तरिकाले जालीभित्र ढुङ्गा लगाएर मजबुत तरिकाले तटबन्ध निर्माण गरेका छौं । यसअघि प्रत्येक वर्ष संघीया खोलामा आएको बाढीले ३÷४ सय घर ढुवान बनाउने गरेको थियो । अहिले हामीले बेलैमा तटबन्धन गरेको कारण अहिले सिंघीया खोला बस्ति पस्न पाएको छैन । जोखिमबाट बचेका छौं ।

आगामी वर्षको योजना के–के छन् ?

– अब मेरो ध्यान विकास निर्माणका बाँकी काम पूरा गर्ने र वडालाई सुन्दर र रमण्ीाय बनाउने योजनामा केन्द्रीत रहेको छ । महानगरपालिकाले ‘एक वार्ड एक पार्कको’ नीति लिएको छ । त्यही अनुरुप यस वडाभित्र रहेका दुई वटा पार्कपार्कको स्तरोन्नतिको काम गरिएको छ । यहाँभित्र रहेका विभिन्न प्रजातिका बोट बिरुवालाई संरक्षण गर्ने र एउटा रमणीय पार्कको रुपमा विकास गर्ने लक्ष्य छ । त्यो अहिले भइरहेको छ । बाहिर वरिपरी घेराबेरा लगाइएको छ । भित्रपनि व्यवस्थित गर्ने काम भइरहेको छ । यस्तै यसै वडाभित्र प्रधामन्त्री पार्क पनि बन्दैछ । एक करोडको लागनीमा प्रधानमन्त्री पार्क बन्ने भएको छ । यहाँ बन्ने पार्क सुविधा सम्पन्न हुनेछ । रमणीय पार्कका अतिरिक्त विराटनगरको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री हुनुभएका सबैको शालिक पार्कमा राखिनेछ । क्षेत्रफल पनि ठूलो भएकोले पार्कभित्र व्यायमशाला पनि बनाउने हाम्रो योजना छ । यहाँ सामुदायिक भवन पनि निर्माण भइरहेको छ । यस्तै मोतिराम पार्कको स्तरोन्नतिको काम पनि भइरहेको छ । उक्त वडालाई सौन्दर्यकरण गर्ने योजना पनि अगाडि बढ्ने भएको छ ।

शिक्षा र स्वास्थ्यको अवस्था कस्तो छ ?

यस वडामा दुई ठूला सामुदायिक विद्यालयहरू छन् । सत्यनारयण माध्यामिक विद्यालय र आर्दश माध्यामिक विद्यालय । यसै वार्डमा महिला मात्र अध्ययन गर्ने एक मात्र आदर्श बालिका माध्यामिक विद्यालय पनि छ । बालिकालाई नमुना विद्यालय बनाउने अभियानमा हामी छौं । अहिले यहाँ प्राविधिक शिक्षा पनि सुरु भएको छ । कक्षा ८ मा प्राविधिक विषय सुरु गरिएको छ । प्राविधिक विषयको अध्यापन नयाँ शैक्षिक सत्रबाट सुरु हुनेछ । अहिले लकडाउनले गर्दा भर्ना अभियान सुरू भएको छैन । यहाँ गायत्री विद्यालय पनि रहेको छ । यो विद्यालयमा संस्कृति विषय पढाई हुन्छ । आर्दश विद्यालय यहाँको पुरानो विद्यालय हो । यस स्कूलको शैक्षिक गुणस्तर धेरै सुधार भएको छ । आर्दश र सत्यनारयण स्कूलमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरू भएपछि विद्यार्थीहरूको आकर्षण पनि बढेर गएको छ । स्वास्थ्यको क्षेत्रमा भन्नुपर्दा विराटनगर ७ स्वास्थ्यको पहुँच भएको क्षेत्र हो । यहाँ थुप्रै सुविधासम्पन्न अस्पताहरु छन् । यहाँ कोशी अस्पताल रहेको छ । अन्य थुप्रै निजी अस्पतालहरु रहेको छ । त्यसको साथी वडा कार्यालयलेहरू जेष्ठ नागरिकको लागि स्वास्थ्य शिविरहरू पनि संचालन गर्दै आएको छ ।

तपाइको कार्यकालमा कस्तो वडा बनाउने परिकल्पना गर्नुभएको छ ?

– सुन्दर वडा बनाउने अभियानमा छु । यसका लागि वडाबासीको भूमिका निकै अहम् हुन्छ । जनप्रतिनिधि र नगरवासीबीच तालमेल अहिलेको प्रमुख आवश्यकता हो । जनताको सहयोग नभएसम्म विकासका कामले गति लिन असम्भव छ । विकास निर्माणका काममा दुबै पक्षले हातेमालो गरेर अघि बढ्न जरुरी छ । यसो भयो भने यो एउटा सुन्दर वडा भएको महानगर बन्नेछ । यहाँका जनताले राज्यबाट पाउने सम्पूर्ण सेवा सुविधा पाउने वातरण सृजना गर्ने मेरो योजना छ ।

अन्त्यमा वडाबासीलाई केही भन्नुहुन्छ ?

– महानगर क्षेत्र सफा, सुन्दर र हराभरा बनाउन सम्पूर्ण वडाबासी तथा नगरबासि एक भएर लागिपर्न सबैलाई मं अनुरोध गर्दछु । वडा र महानगरको मात्र दायित्व नभएर तपाईं हाम्रो सबैको दायित्व सम्झिएर हातमा–हात मिलाएर काम गरेर अगाडी बढौं भन्ने नगरबासीलाई भन्न चाहन्छु । जनप्रतिनिधि र नगरवासीबीच एक ढिक्का भएर अगाडी बढेर वडाको विकासका कामलाई अगाडी बढाउनु पर्दछ । विकास निर्माणका काममा दुबै पक्षले हातेमालो गरेर अघि बढ्नु पर्दछ । यसमा सबैको साथ सहयोगको खाँचो छ । यस्तो कार्यमा वडाबासिलाई सहयोग गरिदिन अनुरोध गर्दछु ।

बिहिबार, १८ असार, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर