प्रदेश १ बजेट बहसः

बजेटमा केही त्रुटी रहेको मुख्यमन्त्री राईको भनाइ

‘रातमा सुत्ने बाहेकको समयमा यो बिजनेस बोकेर गए हामी सफल हुनसक्छौं । राम्रोलाई राम्रो भन्न नसक्ने, रातोलाई कालो भन्नुपर्ने, आफूले आफूलाई मानसिक रुपमा बिरामी पार्नुपर्ने, नराम्रो सोचेर मात्रै बस्ने गर्दा हामीले चाहेको समृद्धि कसरी आउँछ ?’
serdhan

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आगामि आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा केही कमजोरी रहेको स्वीकार गर्नुभएको छ । आगामि दिनमा ती कमजोरी सच्याउने दिशामा आफू केन्द्रीत भएको उहाँको भनाइ छ । प्रतिपक्षी मात्रै होइन सत्तापक्षकै सांसदहरुले बजेटबारे चर्को असन्तुष्टि जनाइरहेको बेला मुख्यमन्त्री राईले प्रदेश १ प्रदेशसभामा आज जवाफ दिँदै कमजोरी सच्याउने प्रतिबद्धता जनाउनु भएको हो ।

‘केही न केही समस्याहरु र असन्तुष्टि प्रकट भएको कुरा मेरो नोटिसमा छ,’ मुख्यमन्त्री राईले भन्नुभयो, ‘केही न केही कमजोरी हुँदै आएका छन् । ति कमजोरी सच्याउने दिशामा म केन्द्रीत छु । ब्याकडोरबाट अर्थात् झ्याल, ढोकाबाट योजना छिराउने कुरालाई रोकेर हामीले यसपटक बजेट ल्याउने कोशिस गरेका छौं ।’

मुख्यमन्त्री राईले बजेट नेकपाको संसदीय दलको नेता मुख्यमन्त्रीको नेतृत्वमा निर्माण भएकोले बजेटप्रति सत्ता पक्षका सांसदहरुले गर्व गर्नुपर्ने पनि बताउनु भयो । उहाँले बजेटमा खुसी भएर आम जनसमुदाय, मिडिया, बैठक तथा भेलाहरुमा सत्तापक्षका सांसदहरुले निर्भिक भएर कुरा राख्न सक्नुपर्नेमा जोड पनि दिनुभयो ।

‘रातमा सुत्ने बाहेकको समयमा यो बिजनेस बोकेर गए हामी सफल हुनसक्छौं । राम्रोलाई राम्रो भन्न नसक्ने, रातोलाई कालो भन्नुपर्ने, आफूले आफूलाई मानसिक रुपमा बिरामी पार्नुपर्ने, नराम्रो सोचेर मात्रै बस्ने गर्दा हामीले चाहेको समृद्धि कसरी आउँछ ?’, मुख्यमन्त्रीको भनाइ थियो, ‘यस्तो नकारात्मक मात्रै हुने हो भने संघीयता कसरी सफल बन्न सक्छ ? कुण्ठीत, संकीर्ण मानसिकताबाट मुक्त भएर यही विजनेसलाई मुख्य ठानेर हामी अगाडि बढ्नुपर्छ ।’

ब्याकडोरबाट अनुचित तरिका र अनुचित प्रक्रियाबाट अनावश्यक कुनै पनि योजनाहरु रातो कितावमा परेका भए त्यस्ता कार्यक्रमहरु अगाडि नबढाउने प्रतिबद्धता पनि मुख्यमन्त्री राईले व्यक्त गर्नुभयो ।

सामाजिक विकास मन्त्रालय र पर्यटन मन्त्रालयमा अलिक बढी संशय रहेको आफूले सुनेको भन्दै त्यस विषयमा पनि आफ्नो क्यानाकर्षण भएको मुख्यमन्त्री राईको भनाइ थियो ।

मुख्यमन्त्री राईले प्रदेशसभामा के बोल्ने के नबोल्ने, यो रोष्टमको मर्यादा राख्ने नराख्ने भन्ने विषयमा भने सांसदहरुले हेक्का राख्नुपर्ने बताउनु भयो । ‘जुनसुकै विषयमा बोल्दा अध्साध्यै ख्याल गरेर हेक्का राखेर बोल्नुपर्छ भन्ने मेरो विशेष जोड छ । रोष्टममा बोल्दा चिप्लिएपछि सकियो, बाहिर जे गरेपनि जे बोले पनि हुन्छ,’ मुख्यमन्त्री राईले भन्नुभयो, ‘कतिपय समयमा हावादारी कुरा बोलेको कुरा मिडियामा ठूलो स्पेसमा आएको देखिन्छ । जताततै नकारात्मकै नकारात्मक छ ।’

बुधबार, १७ असार, २०७७, दिउँसोको ०२:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर