अर्जुन आचार्य
२०७५ साल जेठ ३ गते देशका दुई ठूला कम्युनिष्ट पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) र माओवादी केन्द्रबीच एकता हुनुअघि पार्टी कार्यालय बल्खुमा ‘जिन्को’ नामक विरुवा दुवै अध्यक्षले रोपेर पानी हालेको तस्बिर सार्वजनिक भयो ।
जापानी प्रजातिको जिन्को नामक यो वनस्पतीलाई अणुबमले पनि ध्वस्त गर्न नसक्ने बताइन्छ । पार्टी एकता गर्दैगर्दा सोही विरुवालाई रोपेर कसैले पनि एकता भाँड्न नसक्ने सन्देश दिइरहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै अध्यक्षहरु अहिले भने नेपालकै वनस्पती ‘गुएँलो’ जस्तै २ वर्षमै एकताबाट गल्ने हुन् कि जस्तो देखिएको छ ।
वल्खुस्थित स्वर्गीय जननेता मदन भण्डारीको शालिक अगाडि उभिएर एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसबेला अणु वमको चर्चा गरेलगत्तै प्रधानमन्त्री निवास बालुवाटार परिसरमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अणु वमले पनि क्षति गर्न नसक्ने विरुवा रोपेर पार्टी एकताको उद्घोष गर्नुभएको थियो ।
त्यसबेला पार्टी अध्यक्ष ओलीले विभिन्न साना–साना तत्वहरु मिसिएर खतरनाक अणुवम बन्ने भन्दै नेपाल कम्युनिस्ट पार्टी त्यस्तै साना–साना तत्वहरुको सम्मिश्रण भएको बताउनुभ एको थियो भने अन्य नेताहरुले पनि सोही विरुवामा पानी हालेर पार्टी एकता अणुवमहरुले पनि ध्वस्त नगर्ने गरी बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
त्यसबेलै नेकपाको एकतालाई कति समय टिक्ला हेरौंला भनेर बसेका विरोधीहरुलाई अहिले खुसी बनाएको छ भने पार्टी एकता मजबुद बनाउनु पर्छ भन्ने कार्यकर्ताको भावनामा ठेस पुगेको छ । अहिले सामाजिक संजाल तथा विभिन्न माध्यामबाट केही युवा नेताहरुले पार्टी एकतालाई मजबुद बनाउनु पर्ने धारणा राख्न थालेका छन् । नेकपा फुटको संघारमा पुगेको हो त भन्ने प्रश्नले थुप्रैको मनमा डेरा जमाएको छ ।
यस्तो अवस्थामा सबै नेताहरु सचेत भएर आ–आफ्नो ठाउँमा आत्मसमीक्षा गर्दै अगाडि बढ्नु पर्छ । देश, पार्टी र जनताभन्दा कोही पनि माथि हुँदैन । तसर्थ पार्टीबाट राजिनामा दिनुपरे पनि, प्रधानमन्त्रीबाट राजिनामा दिनुपरे पनि आलोचना गरेपनि अर्को पार्टी खोल्ने फुटाउने र टुटाउने काम कोही नेताबाट पनि गर्नुहुँदैन । आशा गरौं निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ताका लागि दिएको निवेदन कोही नेताको डिजाइनमा भएको होइन । यही मर्मलाई उल्लेख गर्दै पार्टीका युवा नेता योगेश भट्टराईले सामाजिक संजाल फेसबुकमा शीर्ष नेतालाई सम्बोधन गर्दै भन्नुभएको छ, ‘एकपटक आँफैलाई हेरौ, अर्कालाई बुझौ, टाढा नजाऔ, नजिक आउँ, संबाद गरौ संबाद !’
भट्टराईले भनेजस्तै संवादबाटै यो सबै कुराको निकास निकालौं कोही नेताले पनि कोही प्रति रौद्र रुप नदेखाउँ । देश, पार्टी र जनतालाई केन्द्रविन्दुमा राखौं । निर्वाचनको बेला गरेको वाचा पुरा गरौं । पार्टी एकता हुनुअघि २ वर्ष अगाडि रोपेको ‘जिन्को’ नामक विरुवामा फेरि पानी हालौं ।