लोड हुँदैछ...

मेनु

सुरक्षाको प्रत्याभूति दिलाउँछुः एसपी खड्का

सुरक्षाको प्रत्याभूति दिलाउँछुः एसपी खड्का

विराटनगर । मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले अनुसन्धान थाती रहेका पुराना अपराधिक घटनाका फायल पल्टाएर आफ्नो कार्यकालमा सबै खालका अनुसन्धान पुरा गरि शान्ति सुरक्षा कायम गर्ने बताउनुभएको छ ।

विराटनगरमा शनिबार बिहान पत्रकारसँगको भेटघाट कार्यक्रममा एसपी खड्काले समाजमा शान्ति सुरक्षाको अवस्था मजवुत र अपराध अनुसन्धानलाई प्रभावकारी बनाउने सवालमा कुनै पनि कसुर बाँकी नराखिने बताउनुभएको हो ।

मान्छेका ज्यान गएकादेखि लिएर केही अपराधिक घटनाको अनुसन्धान मोरङमा यस अघि पुरा नभएकाले सबै पक्षको सहयोग लिएर आफ्नो कार्यकालमा अपराध नियन्त्रण र शान्ति सुरक्षा व्यवस्थामा लागिपर्ने खड्काले बताउनुभयो । सबै क्षमता र विज्ञता शान्ति सुरक्षाको अवस्था मजवुत बनाउन र अपराध नियन्त्रण एवं अनुसन्धानमा खर्चिने उहाँले बताउनुभयो ।

कानूनी व्यवस्थाको अधिनमा रहेर असल शासन स्थापित गर्ने गरी प्रहरीले काम कारबाही अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । मोरङलाई भारतसँग सीमा जोडिएको र सुरक्षाका हिसाबले निक्कै संवेदनशिल जिल्लाका रुपमा आफूले लिएको उहाँको भनाइ छ ।

प्रदेश १ को राजधानी पनि भएकाले विराटनगरको वस्तुस्थिति र शान्ति सुरक्षाको सवालमा अन्तर्राष्ट्रिय चासो रहने हुँदा त्यही हिसाबमा प्रहरीको काम कारबाही अघि बढाइने एसपी खड्काले बताउनुभयो । अन्तर्राष्ट्रिय नजर पर्ने भएकाले पनि मोरङको शान्ति सुरक्षाको सवालमा सधैं चनाखो हुनुपर्ने कुरामा आफू सजग रहेको एसपी खड्काले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।