विराटनगर । शनिबार रसुवामा ९ जना व्यक्तिमा कोरोना देखिएसँगै नेपालका ७७ वटा जिल्लामा कोरोना देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार रसुवामा ८ पुरुष र १ महिला गरी ९ जनामा कोरोना संक्रमण देखिएको हो । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा शनिबार थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ । मन्त्रालयका अनुसार नेपालका मुलुकका सबै जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ । यस्तै १ सय ३६ जना निको भएर घर फर्किएका छन् ।
शनिबार कैलालीका एक जना ५० वर्षीय पुरूषको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ । उनको भरतपुर अस्पतालमा निधन भएको हो। शव नेपाली सेनाको सहयोगमा व्यवस्थापन गरिने मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ।

