विराटनगर । मोरङको ग्रामथान–२ पीडारवनीका दशनलाल माझीले करिब ९ कट्ठा जग्गामा कृषि वन लगाउनुभएको छ । हुर्कदैं गरेको वनभित्र दोहोरो खेती बालीको रूपमा बेसार पनि लगाउनुभएका उहाँले २ सय मसला रोप्नुभएको छ ।
वनभित्र सिजन अनुसार कृषि बाली लगाउने गरेको माझीले बताउनुभयो । दोहोरो खेती प्रणालीको वैज्ञानिक नाम कृषि वन खेती हो । तराई क्षेत्रमा कृषि वन खेतीको सम्भावना देखेपछि यसतर्फ आकर्षित भएको उहाँको भनाइ छ । वनले ढिलो आम्दानी दिने भएकाले बेसार पनि लगाएको उनले सुनाउनुभयो ।
‘कृषि वनमा सिजन अनुसारको बाली लागाउन सकिदो रहेछ,’ दशनलालले भन्नुभयो, ‘मास दालको उत्पादन लिएपछि अहिले बेसार लगाएको छु । दुरी कायम गरि रोपिएको वनभित्र अन्य विभिन्न वालीहरू लगाउन सकिन्छ ।’ वनले एक दशकमा प्रतिफल आउने भएकोले कृषि बन लगाएको उहाँले बताउनुभयो । ‘वनले सिमित अवधिमा प्रतिफल दिन्छ,’ उहाँले भने, ‘वनभित्र लगाएको कृषि खेतीले चाँडै प्रतिफल दिन्छ ।’ कृषि वनमा बेसार, मासदाल, कान्ला र डिलमा घाँसखेती, त्यस्तै खोल्सीमा उत्पादन दिने अम्बा, अदुवा, बेसार, अलैँची, अम्रिसो अर्थात् अन्य कुनै जातका बोटबिरुवा लगाई थप आम्दानी लिन सकिन्छ ।
ग्रामथान गाउँपालिका–२ झोराहाटका कृषक दीपककुमार माझीले आफ्नो एक विगाह जग्गामा निजी वन लगाएका छन् । उनले ६ सय ५० थान टिक, ३ सय मसला र १ सय ५० मलेसियन सखुवा गरि १ हजार १ सय विरुवा लगाएका छन् । ‘धानखेती गर्दा धेरै झन्झट व्योहोरेका थिए,’ उनले भने, ‘खेतीमा कामदार पनि पाइँदैन । त्यसमाथि सिचाईंको अभाव । अहिले वन लगाउँदा जन र सिचाइँको झन्झटबाट मुक्त भएको छु । ढिलो भएपनि आम्दानी धानखेतीको भन्दा राम्रो हुन्छ ।’
दीपक र दशनलाल मात्र होइन पछिल्लो समय मोरङमा निजी र कृषि बन लगाउने कृषकको संख्या बढ्दै गएको छ । थोरै लगानीमा राम्रो प्रतिफल आउने भएपछि निजी वनतर्फ कृषकको आकर्षण बढेको हो । डिभिजन वन कार्यालय मोरङको अनुसार मोरङका १७ वटै स्थानीय तहमा निजी वन लगाएको छ । १७ स्थानीय तहमा ६ सय १८ जनाले ७ सय ६०.६४ हेक्टर क्षेत्रफलमा ८ लाख ९३ हजार १ सय ३३ रूख रोपिएको डिभिजन वन कार्यालय मोरङका अधिकृत परमेश्वर पासवानले जानकारी दिनुभयो ।
जिल्लामा सबैभन्दा बढी क्षेत्रफलको हिसवाले बेलबारी नगरपालिकामा निजी वन छ । ४२ जनाले बेलबारीमा १३७.६४ हेक्टर क्षेत्रफलमा ४० हजार ७ सय ४४ विरुवा रोपेको डिभिजन वन कार्यालयको अभिलेखमा उल्लेख छ । सबैभन्दा कम कटहरी गाउँपालिकामा रहेको छ । कटहरीमा ९ जनाले १०.७५ हेक्टरमा २० हजार ८३ विरुवा रोपेका छन् ।
निजी वन लगाउँदा नगदेबालीलाई जसरी मेहनत गर्न नपर्ने र वनबाट आम्दानी पनि राम्रो हुने भएका कारण कृषकहरूको आर्कषण बढ्दै वन अधिकृत अधिकृत पासवानले बताउनुभयो । निजी वनमा सर्वसाधारणको आकर्षण बढ्नसके खेर गएका जमिन सदुपयोग हुने उहाँले बताउनुभयो । ‘अन्य बालीभन्दा वन बालीबाट आम्दानी धेरै राम्रो छ,’ उहाँले भने, ‘एक विगाह जग्गामा अन्य बालीले वार्षिक एक लाखका दरले दश वर्षमा १० लाख आम्दानी दिन्छ होला । तर, सोही जग्गामा वन बाली लगाए एक करोडसम्म आम्दानी दिन्छ ।’ उहाँका अनुसार वन बाली लगाउँदा प्रजाती र स्थानअनुसार ८ देखि १६ वर्षसम्म उत्पादन दिन्छ ।
वन लगाउँदा दुरी कायम गरि विरुवा रोप्दा राम्रो प्रतिफल आउने प्रदेश १ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता अनिरुद्रकुमार साहले बताउनुभयो । ‘बाली लगाउँदा चौडाई १२ फिट र एक विरुवादेखि अर्काे विरुवाको दुरी ८ फिटको हुनुपर्छ । कृषकलाई सल्लाह दिँदै उहाँले भन्नुभयो ‘यसरी लगाउँदा घुसुवा बालीको रूपमा अन्य कृषिबाली लगाउन सकिन्छ ।’
पूर्व–पश्चिको चौडाई १२ फिटको भए अन्य बाली लगाउनका लागि ट्याक्टर लगाएर जोत्न सकिन्छ । विरुवा रोपेको केही वर्षसम्म घुसुवा बालीको रूपमा अन्य खेती गर्दा कृषकले अतिरिक्त आम्दानी गर्नसक्ने बताईएको छ । अहिले प्रदेश १ मा टिक, मसला र सखुवाको बढी वन क्षेत्रमा लगाउने गरेको पाइएको छ ।
१ सय ७३ हेक्टरमा सार्वजानिक वन
स्थानीयको रेखदेख र समन्वयमा गरेर गरिने सार्वजानिक वन पनि जिल्लामा राम्रो सप्रिएको पाइएको छ । तराई क्षेत्रमा वन विस्तारका लागि सरकारले वन दशक अभियान अन्तर्गत तराई मधेश हरियाली विकास कार्यक्रम अन्तर्गत सार्वजानिक जग्गामा वनखेती सुरू भएको हो ।
मोरङमा १ सय ७३.८३६ हेक्टर क्षेत्रफलमा सार्वजानिक वनमा वृक्षारोपण गरिएको डिभिजन वन कार्यालय मोरङका अधिकृत प्रमेश्वर पासवानलले जानकारी दिनुभयो । सबैभन्दा बढी जिल्लामा बढुगंगामा गाउँपालिकामा सार्वजानिक वन रहेको छ । बुढीगंगामा २१.४८५ हेक्टर क्षेत्रफलमा सार्वजानिक वन रहेको छ । सबैभन्दा कम विराटनगरमा रहेको छ । विराटनगरमा २.५४ हेक्टर क्षेत्रफलमा सार्वजानिक वन रहेको छ ।
वन लगाउन चाहने कृषकलाई वन कार्यालयले विभिन्न दश स्थानबाट निःशुल्क बिरुवा वितरणका लागि नर्सरी स्थापना गरेको छ । ग्रामथान गाउँपालिका ३ को लखन्तरी, ग्रामथान १ को नेताचौक, धनपालथान गाउँपालिका, पथरीशनिश्चरे, रंगेली, राजघाट, आमतोला, बुद्धनगर र मिलन चौंकका १० वटा निजी नर्सरीको सहकार्यमा विरूवा उत्पादन गरि कृषकलाई वितरण गरिरहको छ ।
कृषकलाई निःशुल्क वितरण गर्न चालू आर्थिक वर्षका लागि ९ लाख ३० हजार विरुवा उत्पादन गरेको कार्यालयले जनाएको छ । गत वर्ष ८ लाख ६० हजार र आर्थिक वर्ष २०७४÷ ७५ मा २ लाख ५० हजार बिरुवा वितरण गरेको थियो ।

