काठमाडौं । पश्चिम सुर्खेतमा आरडीटी नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर फर्किएका युवकको कोरोनाले मृत्यु भएको पुष्टि भएको छ ।
बिहीबार बिहान मृत्यु भएका पञ्चपुरी नगरपालिका १ हाँसेका २० वर्षीय युवकको मृत्युपछि पीसीआर परीक्षण गर्दा पोजेटिभ आएको हो ।
युवकको स्वाबको रिपोर्ट पोजेटिभ आएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यले पुष्टि गर्नुभएको छ । जेठ ७ गते भारतबाट आएका उननी जनता मावि विद्यापुरको क्वारेन्टिनमा बसेका थिए ।
आरडीटी जाँच गर्दा नेगेटिभ आएपछि २१ गते दिउँसो घर गएका उनको सोही दिन राति २ बजे मृत्यु भएको थियो । मृत्यु भएपछि पीसीआर जाँचका लागि बिहीबार नै स्वाब संकलन गरी सदरमुका वीरेन्द्रनगर पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको हो ।
मृतकको शव सुरक्षाकर्मीको घेरामा घरमै रहेको छ । शव व्यवस्थापनका लागि वीरेन्द्रनगरबाट नेपाली सेनाको टोली त्सतर्फ हिँडेको बताइएको छ ।
मृतक युवकसँगै जनता माविको क्वारेन्टाइनमा ५४ जना थिए । उनीहरुको कोरोना परीक्षण गर्दा तीन जनालाई पोजेटिभ देखिएको छ ।
योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ११ पुगेको छ भने कर्णालीमा मात्रै दुई पुगेको छ । यसअघि दैलेखमा क्वारेन्टाइनमै मृत्यु भएका युवकमा पनि कोरोना पुष्टि भएको थियो ।
यसअघि कोरोना संक्रमणबाट सिन्धुपाल्चोक, बाँके, गुल्मी, बारा, ललितपुर, अर्घाखाँची, दैलेख, बाजुरा, दोलखा र पाल्पामा एकरएक जनाको मृत्यु भइसकेको छ ।