इटहरा । सोमबार राती आएको हावाहुरीले मोरङको रतुवामाई नगरपालिका वडा नम्वर ९ का लालबहादुर बिकको परिवारलाई विचल्ली बनाएको छ । लकडाउनका कारण दुई छाकको जोहो गर्न हम्मेहम्मे परिरहेको बेला हावाहुरीले घरको छानो उडाएर बिपत्ति थपिदिएको हो ।
अर्काको जग्गामा सानो बाँसको कटेरो हालेर बसेका लालबहादुरको टहरो भताभुङ्ग भएको छ । भाटाले च्यापेर अड्याएका जस्तापाता उडाइदिएको छ ।
गत बर्ष मात्र भोजपुरको गोगनेबाट १२ जानाको परिवार लिएर लालबहादुर तराई झर्नु भएको थियो । उहाँ स्थानीय छत्रवहादुर थापाको जग्गामा बसोबास गदै आउनुभएको छ ।
दैनिक ज्यालामजदुरी गरेर परिवार चलाउदै आउनुभएका उहाँको परिवार विचल्लीमा परेपछी उहाँलाई स्थानीय राजनीतिक पार्टी, सामाजिक संस्था र ब्यक्तीहरुले सहयोग गरेका छन् ।
आरम्भ नाट्य डबली कला साहित्य मञ्च र नेकपा ९ नम्वर वडा कमिटीले आर्थिक सहयोग गरेका छन् । त्यसैगरी १० नम्वर वडा सदस्य काजन ढकाल, स्थानीय दिनेस भट्टराई ,राजन श्रेष्ठ र अनिल श्रेष्ठले खाद्यान्न सामग्री दिएका छन् ।
सहयोग प्राप्त भएपछि चुलो बल्न र टहरो मर्मत गर्न सहयोग पुगेको पिडित बिकले बताउनुभयो । हावाहुरीले बिकको घरपरिवारलाई बिचल्ली पारेको जानकारी पाएलगत्तै आफुहरु उहाँको घरमै गएर राहात सामाग्री दिएको वडा सदस्य ढकालले बताउनुभयो । उक्त सामाग्रीले बिक परिवारलाई दुई महिना जती पुग्ने सदस्य ढकालको भनाई छ ।