दुई वटा हलबाट प्रदेशसभा सञ्चालन हुने

साँघुरो हलमा दुरी कायम गर्न समस्या भएपछि दुई हलमा सांसदहरु बस्ने / सञ्चारकर्मीले हलमा प्रवेश नपाउने

विराटनगर । प्रदेशसभा सञ्चालन गर्न सभाहल साँघुरो भएपछि प्रदेश १ ले दुई वटा तलामा प्रदेशसभाको बैठक सञ्चालन गर्ने तयारी भएको छ ।

कोरोना संक्रमणको सम्भावनालाई न्युन गर्न दुरी कायम गर्नुपर्ने र दुरी कायम गर्दा पहिलेको सभाहलमा बैठक सञ्चालन गर्न सम्भव नहुने भएकोले भुँई तला र पहिलो तलामा रहेको दुवै सभाहलहरुलाई प्रयोग गरेर बैठक चलाउने तयारी भएको हो ।

सभाहलमा पुरानो संरचनामा दर्शकदिर्घा र सञ्चारकर्मीहरुका लागि २० वटा कुर्सीको व्यवस्था थियो । तर, अहिले ती सबै संरचना परिवर्तन गरिएका छन् । सभाहलभित्र अब ६५ वटा मात्र कुर्सी राखिएको छ । माथिल्लो तलामा ३० वटा कुर्सीको प्रवन्ध गरिएको छ ।

सभाहलको पुरानो संरचनामा प्रदेशसभा सदस्यहरुका लागि ९३ वटासहित दर्शकदीर्घा र सञ्चारकर्मीकालागिसमेत गरी १२० वटा कुर्सीहरु राखिएका थिए । कुर्सीहरुको प्रवन्ध मिलाउन यतिबेला सभामुख, उपसभामुख, सरकारका मन्त्रीहरु र दलका प्रमुख सचेतकहरु क्रियाशिल हुनुभएको छ ।

माथिल्लो हलमा बस्ने सांसदहरुले टेलिभिजन सेटमार्फत भुँईतलाको गतिविधि अवलोकन गर्ने र माथिल्लो हलको गतिविधि भुँईतलामा रहेको टेलिभिजन सेटबाट अवलोकन गर्नेगरी प्रवन्ध मिलाइएको छ । सभामुखले कम्प्युटरको मोनिटरबाट माथिल्लो सभाहलको गतिविधि अवलोकन गर्नुहुनेछ ।

सञ्चारकर्मीहरुले पनि मिडिया सेन्टर र नेपाली काँग्रेस संसदीय दलको कार्यकक्षमा जडान भएको टेलिभिनन सेटबाट बैठकको रिपोर्टिङ गर्ने व्यवस्था गरिएको छ । प्रदेशसभाको बजेट अधिवेशन जेठ १४ गते २ बजेको लागि आह्वान भएको छ ।

आइतबार, ११ जेठ, २०७७, रातीको ०९:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर